०९ साउन २०८३, शनिबार

मुस्ताङ खुलेपछि कुश्मामा पर्यटकको घुइँचो, पुल हेर्न मात्रै भारतदेखि आउँछन् मानिस

कात्तिक २२, २०७५
मुस्ताङ खुलेपछि कुश्मामा पर्यटकको घुइँचो, पुल हेर्न मात्रै भारतदेखि आउँछन् मानिस

कुश्मा– तीजपछि तिहार शुरु हुँदासम्म पर्वत कुश्मा क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको छ । 

कुश्मामा रहेका अग्ला तथा लामा तीन पुल, केबलकार ढाँचाको यान्त्रिक पुल, गुप्तेश्वर गुफा, कालिका मन्दिर, गलेश्वर धाम र पञ्चकोट जाने पर्यटक बढेपछि कुश्माका होटलसमेत भरिभराउ भएका छन् । त्यति मात्र नभएर माटोको शहरका रुपमा परिचित मुस्ताङमा सडक सञ्जालसँग जोडिएसँगै मुक्तिनाथ, लोमान्थाङ, कोरल्ला जाने पर्यटकसमेतका कारण कुश्माका होटल व्यस्त भएका हुन् ।

“यहाँका पुलका अलवा, बागलुङ, म्याग्दी र मुस्ताङसमेत जाने पर्यटकहरु कुश्मामा वस्न रुचाउँछन्,” होटल बन्दना प्रालिका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले भने, “मुस्ताङ खुलेपछि त हामीलाई एकछिन् फुर्सद छैन, होटल कुनै दिन खाली हुँदैन ।” 

यहाँ आन्तरिकसँगै भारतीय पर्यटकको घुइँचो लाग्न थालेको छ । धौलागिरि क्षेत्रको प्रवेशद्वार मानिएको कुश्मा बजारमा मुस्ताङ जाने र फर्कने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । मुस्ताङ पोखराबाट हवाई यात्रा गरेर जान सकिने भएपनि यात्रुले उक्त यात्रा जोखिमपूर्ण मान्दै आएका छन् । 

पैदलयात्रीहरु बागलुङ, म्याग्दी होस् वा मुस्ताङ जहाँ भए पनि जाँदा वा आउँदा अग्ला पुलका कारण कुश्मामा झर्ने गरेको होटल व्यवसायी विषमकुमार श्रेष्ठ बताउँछन् । अरू बेला पनि आन्तरिक पर्यटक कुश्मामा निकै आउने गरेका छन् । उनले भने, “मुस्ताङ खुलेपछि त कुश्माका राम्रा होटल कुनै खाली हुँदैनन् ।” 

कुश्मा बजारका बेञ्जु, बन्दना, न्यू फ्रेण्डली, गोल्डेन, व्रिजभ्यूलगायत होटल तीज लागेसँगै भरिभराउ हुन थालेका हुन् । उपल्लो मुस्ताङ जाने पर्यटकको सङ्ख्यामा पनि पछिल्लो समय निकै बढेको छ । मुस्ताङ जान कुश्मा, बेनी, घाँसा हुँदै जोमसोम जानुपर्ने हुन्छ । मुस्ताङ जानेहरु चिसो मौसम शुरु हुनु अगावै त्यहाँ पुग्न रुचाउँछन् । दैनिक मोटरसाइकलमा मात्रै सयौँको सङ्ख्यामा पर्यटक मुस्ताङ घुम्न जान थालेका पर्वतका ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । उनका अनुसार दैनिक बस, मोटरसाइकल र जीप गरी झण्डै चारसय हाराहारीमा मुस्ताङतर्फ गएका छन् । 

विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने मुस्ताङ हिजोआज स्वदेशी पर्यटकको समेत रोजाइमा परेको छ । प्राचीनकालमा निर्माण गरिएका गुम्बा, काँचो माटोबाट निर्मित घर, दरबार र घरका रूपमा प्रयोग भएका गुफा मुस्ताङको आकर्षण हो । स्थानीय कला र हिमाली संस्कृतिको अध्ययन, अनुसन्धानका लागि पनि सो क्षेत्र महत्वपूर्ण मानिन्छ । चिनियाँ पर्यटक लुम्बिनी र भारतीय पर्यटक मुक्तिनाथ भित्र्याउँदै मानसरोवार, दामोदर कुण्ड पुर्‍याउने लक्ष्यसाथ निर्माण भएको कालीगण्डकी करिडोरले समेत मुस्ताङ तथा कोरल्ला नाकाको चर्चा बढाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्