
कञ्चनपुर– कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन महिना भइसकेको छ । लामो समयसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनको परिवार आइतबारदेखि धर्ना बस्ने भएका छन् ।
उनीहरु यसपाली अनिश्चितकालीन धर्नामा बस्ने भएका हुन् । निर्मलाका बुवा यज्ञराज पन्तले छोरीले न्याय नपाएसम्म धर्ना बसिरहने बताए । ‘छोरीले न्याय नपाएसम्म धर्ना बसिरहन्छु । निर्मला सबैकी छोरी हो’ उनले भने, ‘अन्य छोरीले मेरो छोरीको जस्तो नियति भोग्नु नपरोस् भन्नका लागि पनि अनिश्चितकालीन धर्नामा साथ दिन सबैलाई आग्रह गर्छु ।’
बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालयअगाडि हुने अनिश्चितकालीन धर्नामा अधिकारकर्मी र नागरिक समाजले पनि समर्थन गर्ने भएका छन् । मदनचोकबाट र्याली निकालेर जिल्ला प्रशासनअघि पुगेर धर्नामा बस्ने कार्यक्रम रहेको नागरिक संघर्ष समितिले जनाएको छ ।
हत्यारा पत्ता लगाउन प्रहरीले शुरुदेखि लापरबाही गरेको निर्मलाका परिवारको आरोप छ । निर्मलाकी आमा दुर्गाले हत्यारा पत्ता लगाउँछु भनेर सबैले आश्वासन मात्र दिएको बताउँछिन् । उनले छोरीको हत्यारा पत्ता नलागेसम्म आफू र आफ्ना अन्य २ छोरी पनि असुरक्षित रहने बताइन् ।
उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा शंकास्पद देखाइएका र प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीलाई हिरासतमा लिएर अनुसन्धान गर्नुपर्ने माग निर्मलाका आफन्त र स्थानीयको छ । साउन १० गते प्रहरीलाई खबर गरेकै बेला खोजी नगरिदिने र दोस्रो दिन लास फेलापछि सबै प्रमाण नष्ट गर्ने प्रहरीलाई हिरासतमा लिएर अनुसन्धान नगरिएको गुनासो पनि उनीहरुको छ । निर्मलाको न्यायका लागि पटकपटक भएका आन्दोलनमा एक जनाको मृत्यु भइसकेको छ भने केही घाइते छन् ।