
काठमाडौं– मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगर्ने सरकाको निर्णय आएसँगै यसको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा बहस चलेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारका सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले नयाँ व्यवस्थाका साथ मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक हुने बताएका थिए ।
तर सर्वसाधारण र विपक्षीहरुले भने सरकारले सूचना लुकाउनका लागि मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक नगर्न लागेको आरोप लगाएका छन् । तर सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री बास्कोटाले भने सरकारको सूचना लुकाउने नियत नभएको बरु यसलाई व्यवस्थित गर्न खोजिएको बताएका छन् ।
उनले मन्त्रिपरिषद्को बैठक विस्तृतमा दिने व्यवस्था गर्न लागेको बताए । सञ्चारमन्त्री बास्कोटाका अनुसार मन्त्रिपरिषद्का निर्णयहरुबारे अब जानकारी मात्र नभएर पत्रकारसँग अन्तरक्रिया समेत गर्ने व्यवस्था गर्न लागिएको छ ।
मन्त्रिपरिषद्का निर्णयहरु तत्काल सार्वजनिक हुँदा केही विषयमा विवाद र समस्या आएको र त्यसका कारण समस्या उत्पन्न हुने गरेका कारण यस्तो व्यवस्था गरिएको उनले बताए ।
मन्त्रिपरिषद्का निर्णयहरु र अन्य कामका विषयमा सरकारका प्रवक्ता र पत्रकारबीच हरेक साता अन्तरक्रिया गर्ने तयारी गरिएको छ । हरेक बिहीबार अन्तरक्रिया गर्ने गरि तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए ।