काठमाडौं, १९ फागुन — बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टलाई ज्यान मार्ने धम्की आएको खुलासा भएको छ । आलियाका पिता फिल्मनिर्माता महेश भट्टलाई अज्ञात व्यक्तिले फोन गरेर ८० लाख रुपैयाँ दिन लगाउँदै नदिएमा आलियालाई मारिदिने धम्की दियो ।

इन्डिया टुडेमा छापिएको खबरअनुसार फागुन १५ गते यो फोन आएको थियो । भट्ट परिवारले बुधवार प्रहरीसमक्ष उजुरी दायर गरेका छन् ।
यो मुद्दालाई मुम्बई प्रहरीले एन्टी एक्स्टोर्सन सेलमा रिफर गरेको छ ।
धम्की दिने व्यक्तिले महेशलाई पैसा नदिए आलिया र सोनी राजदान (महेशकी पत्नी) माथि अनेकौं राउन्ड गोली चलाउने धम्की दिएको थियो ।
शुरुमा महेश भट्टले त यो कसैको ठट्टा होला भन्ठाने तर उक्त व्यक्तिले महेशलाई ह्वाट्सएप मेसेज नै पठायो । त्यसपछि चाहिँ चिन्तित महेशले प्रहरीमा उजुरी दिए ।
आफूलाई कुनै ग्यांगको सदस्य बताउने व्यक्तिले पूरा रकम लखनउस्थित ब्यांकको कुनै शाखामा राख्न भनेको थियो ।
एजेन्सीको सहयोगमा