०२ साउन २०८३, शनिबार

कपडा उद्योगीले सरकारलाई भ्याट नतिर्ने, कडा आन्दोलनकाे चेतावनी

कपडा उद्योगीले सरकारलाई भ्याट नतिर्ने, कडा आन्दोलनकाे चेतावनी

काठमाडौं– नेपाल कपडा उद्योग संघले विभिन्न माग राख्दै मुलुकभरका कपडा उद्योग बन्द गरेको छ । सरकारले विगतमा कपडा उद्योगीलाई मुल्य अभिवृद्धि कर (भ्याट) छुट दिँदै आएको थियो । तर, आर्थिक ऐनमार्फत् सरकारले भ्याट छुटको व्यवस्था हटाएको छ । 

ऐनमा रहेको र विगतमा पाउँदै आएको भ्याट छुटको व्यवस्था हटाएपछि उद्योग संघले आगामी शनिवारसम्मका लागि मुलुकभरका २ सय ५० बढी कपडा उद्योग बन्द गर्ने निर्णय गरेको हो ।

संघले आफ्ना लागि वैकल्पिक व्यवस्था नगरी सरकारले भ्याट छुटको व्यवस्था हटाएकोले कपडा उद्योग सञ्चालन गर्न अप्ठ्यारो भएको भन्दै सांकेतिक आन्दोलन स्वरुप कपडा उद्योग बन्द गर्ने बताएको छ । संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले सरकारको नारा समृद्धिको भए पनि नारा अनुसार काम नगरेको बताए । उनले विगतमा आफूहरुले पाउँदै आएको भ्याट छुट पाउनुपर्ने भन्दै पटक पटक सरकारको ध्यानाकर्षण गराए पनि सरकारले वेवास्ता गरेको बताए ।

अहिले सांकेतिक रुपमा एक हप्ताका लागि कपडा उद्योग बन्द गरेको र आगामी दिनमा समेत आफुहरुका माग सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी अध्यक्ष प्रधानले दिए ।

संघले भ्याट छुटको प्रावधान हटाएपछि सो बराबरको रकम नगद अनुदानमा पाउनु पर्ने, उद्योगले नयाँ मेसिन खरिद गर्दा ३० प्रतिशत नगद अनुदान पाउनुपर्ने लगायतका माग सरकार समक्ष राखेका छन् ।

त्यस्तै पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, विद्युत् महसुलमा ५० प्रतिशत छुट हुुनुपर्ने, उद्योगको मेसिनरी तथा पार्टस् खरिदमा लाग्ने भन्सार छुट हुनुपर्ने लागतयका माग संघले राखेको छ । त्यसैगरी उद्योगीले खरिद गर्ने डाइज र केमिकलमा भन्सार छुट पाउनु पर्ने, निर्यातमा १० प्रतिशत अनुदान पाउनु पर्ने र श्रमिकको भुक्तानीमा नगद अनुदान दिनुपर्ने माग राखेका छन् । आफ्ना मागहरुका सम्बन्धमा सरकारले आगामी शनिवारसम्म कुनै पनि सुनुवाइ नगरे कडा आन्दोलनमा उत्रिने संघले चेतावनी दिएको छ । 

नेपाली कपडा उद्योगमा १० अर्ब रुपैयाँ बराबरको लगानी रहेको र सयौंको संख्यामा नेपालीले नै रोजगारी पाएको समेत उद्योगीहरुको दावी रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्