
नेपाली राजनीतिको केन्द्रमा रहने नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारका अभिन्न सदस्य थिए साकार दाहाल ‘प्रकाश’ । गत वर्ष मंसिर ३ गते प्रकाशको निधन भएपछि प्रचण्ड पुत्रशोकमा परे ।
प्रचण्ड परिवारमाथि बज्रपात भएको १ वर्ष पुगेको दिन सोमवार स्व. प्रकाशको प्रथम स्मृति दिवसमा कार्यक्रमको आयोजना गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डको निवास खुमलटारमा स्मृति दिवसको कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम अवधीभर आमा सीता दाहाल रोइरहेकी थिइन् । दाहाल परिवारका सबै सदस्य भावुक देखिएका थिए ।
प्रकाशको निधनले कञ्चनपुरको निर्वाचन क्षेत्रमा चुनावी अभियानमा रहेकी नेतृ बिना मगरलाई पतिशोक पर्यो । मतदान हुनुभन्दा केही दिनअघि भएको दुःखद घटनाले विना मगर विक्षिप्त भइन् । परिवारमा सबैभन्दा निकट रहेकी पत्नी विना मगरको सम्झनामा मात्रै छन् अहिले प्रकाश ।

सगरमाथा आरोहणका क्रममा प्रकाश र विना मगरको प्रेम सम्बन्ध सार्वजनिक भएको थियो । त्यसपछि अनेक विवादबीच विना दम्पत्तिले सहज जीवनयापन शुरू गरिसकेका थिए, प्रचण्डलाई राजनीतिक यात्रामा सघाइरहेका थिए ।
प्रकाशको निधन हुनुअघि विना दम्पत्तिसँग सपना थिए । बिना मगर संसदीय राजनीतिमा स्थापित हुन संघर्ष गरिरहेकी थिइन् । तर विना मगरसँग पति प्रकाश थिए । पति प्रकाशको निधन लगत्तै भएको निर्वाचनबाट विना मगर प्रतिनिधिसभा सदस्य निर्वाचित भइन् । त्यसपछि संघीय सरकारमा खानेपानी मन्त्री बनिन् । तर अहिले विना मगरसँग पति प्रकाश छैनन् ।
प्रकाशलाई सम्झिँदै खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मा सम्हालेकी धर्मपत्नी विना मगर भन्छिन्, ‘प्रकाश तिमी हिलोमा फुलेको कोमल थियौ । हिलोमा फुलेको सुन्दर कमलको फूललाई दुनियाँले टिपेर हातमा खेलाउने चाहना राख्छन् । टिप्न नसकेपछि ढुङ्गाले हानेर धुजाधुजा पार्न खोज्छन्, तिमी थियौ त्यस्तै ।
नेतृत्वलाई सिध्याउन गरिएका लाखौं प्रयासहरु तिमीमा केन्द्रित हुन्थे । आम मान्छेजस्तै तिमी पनि सामान्य मान्छे त थियौ । कसैको छोरा, कसैको भाइ, कसैको साथी, कसैको प्रेमी । तिमीमा पनि मानवीय गुणहरु थिए । मानवीय कमजोरीहरु पनि थिए । इच्छा, आकाङ्क्षा र रहरहरु पनि थिए नै । यी सारा सम्बन्धहरुलाई तिमीले जसरी व्यवस्थापन गर्नुपर्ने हो, त्यसरी व्यवस्थापन गर्ने कौशल पुगेन होला । तर, तिमी मेरा लागि भने प्रिय थियौ । मेरा लागि मात्र होइन, परिवार, समाज, देशका लागिसमेत प्रिय थियौ । किनकि, तिमीमा सबैभन्दा ठूलो सद्गुण थियो सरलता, जनसम्पर्कलाई जीवन्त राख्ने चुस्त व्यवस्थापन, कुनै न कुनै माध्यमबाट आम जनतामा पुग्नसक्ने अद्भुत क्षमता ।’
प्रकाश दाहालको स्मृतिमा प्रकाशित स्मारिकामा बिनाले लेखेकी छिन्,‘...प्रकाश तिमिले हामीलाई छोडेर गएको पनि आज एक वर्ष बितिसकेछ । यो बीचमा छ वटा ऋतुहरु सकिए । सिङ्गो हिउँद र वर्षत्हरु बिते । १२ महिनाले पालो फेर्यो ।मैले भने अझै मनलाई कन्भिन्स गर्नै सकेकी छैन तिमी यो संसारमा छैनौ भनेर ।’
उनी लेख्छिन्,‘...अब त हाम्रो प्रेमको चिनो छोरा पनि ठूलो भयो, बुवा भन्न सक्छ । तिमीलाई थाहा छ, सिरानीको तस्वीर देखाउँदै ‘बावुको बुवा’ भन्छ । अनि, तिम्रो तस्वीरलाई म्वाइँ खान्छ । तिम्रो प्यारो छोरा प्रणवले मलाई पटकपटक रुवाउँछ यसरी ।’
यो पनि पढ्नुहोस्