बागलुङ ३० मंसिर– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका लागि संघीयता क्यान्सर रोग जस्तै भएको बताएका छन् ।

विहिबार प्रगतिशिल प्रत्रकार संघ बागलुङले आयोजना गरेको पत्रकार भेटघाटमा केसीले देशको राष्ट्रियता, सार्वभौमकता, र अखण्डतामा कालो बादल मडारिएको बताए ।
अरु दल पनि संघीयताको मामलामा फसेको अध्यक्ष केसीको ठहर छ । उनले भने, ‘आफूले सबै दलको नाडि छामेको छु, संघियता लागू गर्छौ भन्ने दलहरु पनि अहिले पछुताउन थालेका छन् ।’
केसीले भारतीय दूतावास लैनचौरमा सेन्सर गरिएको संविधान संशोधन प्रस्ताव प्रचण्ड सरकारले ल्याएको भन्दै त्यसलाई नेपाली जनताले मान्न नसक्ने बताए । अध्यक्ष केसीले नेपाललाई विखण्डन गराउन भारतले संघीयताको गलपासो नेपाल राष्ट्रको घाटीमा झुन्डयाईदिएको जिकीर गरे ।
भिन्न जाति तथा समुदायले भरिएको नेपालजस्तो मुलुकमा संघीयता कायम गर्न नहुने भन्दै अध्यक्ष केसीले भने – “संविधानअनुसार प्रदेशको समर्थनबिना सीमाङ्कन हुन सक्दैन, देश बचाउने जिम्मा हामी सबै नेपालीको हो राष्ट्रिय सभामा समावेशी प्रतिनिधित्वको व्यवस्था छ, त्यसैगरी भाषा र नागरिकताको विषयमा संविधान लचिलो छ ।
उनले संविधान संशोधनको प्रस्ताव आफूहरुलाई कुनै पनि हालतमा स्विकार्य नरहेको भन्दै नेता केसीले ठूला दलहरुले पुरानै संरचनामा स्थानिय निकायको चुनाव गछौ भन्ने कुरा राष्ट्रिय जनमोर्चालाई स्वागत योग्य रहेको बताए ।
राष्ट्रिय जनमोर्चाले मुलुकलाई टुक्रयाउने गरी डिजाईन अन्तर्गत संघीयता सम्बन्धी अवधारणा आएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।