काठमाडौं, ३० मंसिर – नेपाल आयल निगमले गुपचुप ढंगले विभिन्न १७ ग्यास उद्योगलाई शाखा खोल्न अनुमति दिएको खुलेको छ ।

तालुक निकाय आपूर्ति मन्त्रालय र व्यवसायी समेतलाई गुमराहमा राखेर निगमले ती उद्योगलाई शाखा खोल्न अनुमति दिएको हो ।
ग्यास उद्योगको संख्या धेरै भएको भन्दै सरकारले थप उद्योग सञ्चालन अनुमति नदिन निगमलाई निर्देशन दिएको थियो । तर, त्यस विपरीत निगमले मनलाग्दी ढंगले थप उद्योगलाई अनुमति दिएको हो ।
आपूर्ति मन्त्रालयले चाहिँ नयाँ उद्योगलाई शाखा खोल्न अनुमति दिएकोबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएको छ । यद्यपि निगमको सञ्चालक समिति अध्यक्ष आपूर्ति सचिव रहने प्रावधान छ ।
तर सञ्चालक समितिलाई समेत जानकारी नदिई निगमका उच्च अधिकारीले नयाँ उद्योग खोल्ने अनुमति दिएका हुन् ।
निगमले आवश्यकताको आधारमा नयाँ उद्योग र शाखा खोल्ने अनुमति दिन सक्ने व्यवस्था भए पनि त्यसको व्यावहारिक पाटो अध्ययन नगरी अनुमति दिएको मन्त्रालयको भनाइ छ ।
आफ्नो अनुमतिबेगर ग्यास उद्योग र शाखा खोल्ने अनुमति दिएको भन्दै मन्त्रालयले बिहीवार निगमलाई पत्रै लेखेर त्यसबारेको विवरण माग गरेको छ । ‘एलपी ग्यास प्लान्ट उद्योग खोल्न कुन–कुन ग्यास उद्योगलाई कहाँ, कहिले र कति परिमाणमा उत्पादन गर्नेगरी उद्योग/शाखा कार्यालय खोल्न अनुमति दिइएको हो, आजै विवरण पठाइदिन अनुरोध छ,’ मन्त्रालयको पत्रमा भनिएको छ ।
मन्त्रालयका अनुसार २०६९ सालयता विभिन्न १७ उद्योगलाई शाखा खोल्न अनुमति दिइएको छ ।
नयाँ शाखा खोल्न अनुमति दिइएका उद्योगमा गौरीशंकर ग्यास उद्योग, हिमालयन पेट्रो केमिकल्स (दर्ता नं. १००) र हिमालय पेट्रो केमिकल्स (दर्ता नं.१६४७१) छन् ।
कोशी ग्यास उद्योग, लुम्बिनी ग्यास कम्पनी, नारायणी ग्यास उद्योग, नेपाल ग्यास उद्योग र एनएल ग्यास उद्योग लिमिटेडले पनि निगमबाट शाखा खोल्ने अनुमति पाएका छन् ।
त्यस्तै, नोबेल ग्यास उद्योग, ओम ग्यास उद्योग, राजधानी ग्यास इन्डस्ट्रिज, सगरमाथा ग्यास उद्योग र सहारा ग्यास इन्डस्ट्रिजले पनि शाखा खोल्ने अनुमति पाएका छन् ।
निगमले यसअघि सुगम ग्यास उद्योग प्रालि, उग्रचण्डी ग्यास उद्योग प्रालि, भेरी ग्यास उद्योग र नेपाल ग्यास उद्योग (नारायणी) लाई पनि शाखा खोल्ने अनुमति दिइसकेको छ ।
हाल सञ्चालनमा रहेका ग्यास उद्योगको संख्या नै धेरै भएको भन्दै संसदीय समिति र मन्त्रालयले नयाँ उद्योग वा शाखा नखोल्न निर्देशन दिँदै आएका छन् । ‘हाल नेपालमा नयाँ उद्योग आवश्यक छैन,’ मन्त्रालयका सचिव प्रेमकुमार राईले भने । ‘किन नयाँ शाखा खोल्ने अनुमति दिइयो यसको विवरण माग गरेका छौं,’ सचिव राईले थपे, ‘अनुसन्धानपछि मात्र निर्णय लिनेछौं ।’
निगमले भने नियमअनुसारै नयाँ शाखा खोल्ने अनुमति दिइएको दाबी गरेको छ । ‘नयाँ ग्यास उद्योग वा शाखा खोल्न नदिने भन्ने कहीँ पनि छैन,’ निगमका निर्देशन दीपक बरालले भने, ‘निगमले आफ्नो अधिकार प्रयोग गरेर अनुमति दिएको हो ।’
हालसम्म निश्चित क्षेत्रमा मात्र ग्यास उद्योग भएकाले नयाँ ठाउँमा शाखा खोल्न अनुमति दिइएको उनले बताए ।
हाल नेपालमा ५३ वटा खाना पकाउने उद्योग छन् ।
व्यवसायीको विरोध नेपाल एलपी ग्यास उद्योग संघले निगमले एकलौटी निर्णय गरेको भन्दै खण्डन गरेको छ । ‘नयाँ ग्यास उद्योग खोल्न दिनु गलत छ,’ संघका महासचिव दिवान चन्दले लोकान्तरसँग भने ।
कुन उद्योगलाई, कहाँ, कति संख्यामा नयाँ शाखा खोल्ने अनुमति दिइएको त्यसको जानकारी संघलाई नदिइएको महासचिव चन्दले बताए । ‘हामीले पटकपटक यसको जानकारी माग गर्दा पनि निगमले दिन अटेर गरिरहेको छ,’ उनले थपे ।
हाल सञ्चालनमै रहेका ग्यास उद्योगको संख्या धेरै भएकोमा नयाँ शाखा खोल्नु आवश्यक नरहेको संघको भनाई छ ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रलोभनमा परेर निगमका सीमित अधिकारीले शाखा खोल्ने अनुमति दिएको भन्दै त्यस्तो निर्णयको विरोध गरे ।