काठमाडौं –गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको ११औं वर्ष पूरा गरी १२औं वर्षमा प्रवेशको शुक्रवार देशका विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रीय कार्यालय, लाजिम्पाट, शाखा कार्यालयहरू महेन्द्रपुल पोखरा, बुटवल रुपन्देही, बेनी म्याग्दी, नारायणगढ चितवन, विराटनगर मोरङ, इटहरी सुनसरी र घोराही दाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
यसक्रममा कूल ४३० युनिट रगत संकलन भएको गरिमा विकास बैंकले जनाएको छ ।
यस्तै बैंकको उद्गम स्थल स्याङ्जाको वालिङ शाखामा सरसफाइका साथै पोखरामा नयाँ शाखा सञ्चालनमा पनि आएको छ ।
पोखरा महानगरपालिका स्थित बुद्धचोकमा नयाँ शाखा सञ्चालनमा आएको हो । शाखाको नेपाल राष्ट्रबैंक पोखरा शाखाका संयोजक पोमनाथ गौतमले उद्घाटन गरे ।
विकास बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गर्दै आइरहेको छ ।
गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौंमा ८ वटा शाखासहित देशभर ६६ शाखा र १५ वटा एटीएम सञ्चालनमा छन् ।
विकास बैंकले छिट्टै नै पर्साको वीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय खोल्दैछ ।
२०७५ मंसिर ७ गतेसम्म विकास बैंकले रु.२४ अर्ब ५० करोड निक्षेप संकलन गरी २२ अर्ब कर्जा लगानी गरेको छ ।