१४ असार २०८३, आइतबार

मानव तस्करी गरेको अभियोगमा वेबस्टर कन्सलटेन्सीकी सञ्चालिका पक्राउ

मानव तस्करी गरेको अभियोगमा वेबस्टर कन्सलटेन्सीकी सञ्चालिका पक्राउ

काठमाडौं– क्यानडामा आकर्षक रोजगारीको प्रलोभवन देखाएर विभिन्न नेपालीबाट करिब १ करोड रुपैयाँ ठगी गरेको तथा मानव तस्करी गरेको अभियोगमा एक कन्सलटेक्सी सञ्चालिकलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौंको पुतलीसडकमा वेबस्टर एजुकेशन नेटवर्क नामक कन्सलटेन्सी सञ्चालन गरेकी सुनिता तिवारी वाइवालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेको हो । 

मकवानपुरको बकैया–९ च्युरीबास घर भइ काठमाडौंको नैकाप बस्दै आएकी सुनिताले क्यानडामा आकर्षक काममा लगाइदिने भन्दै १० जना नेपालीलाई ठगेको उजुरी सिआईबीमा परेको थियो । सुनिताले एक व्यक्तिबाट ७ देखि १२ लाख रुपैयाँसम्म उठाएर भारत पुर्याइ अलपत्र पारेकी थिइन् । 

शिक्षा मन्त्रालयबाट स्वीकृति समेत नलिइ कन्सलटेक्सी सञ्चालन गर्दै आएकी सुनिताले आकर्षक कामको लोभ देखाएर मानव तस्करी गर्दै आएको सिआईबीको अनुसन्धानबाट फेला परेको छ ।

विभिन्न पत्रपत्रिकामा विदेशबाट आकर्षक रोजगारीको अवसर आएको विज्ञापन दिएर सुनिताले ‘ग्राहक’ जम्मा गर्ने गर्दथिन् । विदेशमा रोजगारी पाइने आशले आफ्नो सम्पर्कमा आउने व्यक्तिलाई सुनिताले भारतका विभिन्न ठाउँमा पुर्याएर महिनौसम्म शोषण गर्ने तथा अलपत्र पार्ने गरेकी थिइन् । 

यसरी पीडित भएका १० जनाले जाहेरी दिएपछि सिआईबीले सुनितालाई नियन्त्रणमा लिएको हो । 

जिल्ला अदालत काठमाडौंको आदेशानुसार शुक्रवार काठमाडौंको पुतलीसडकबाट पक्राउ परेकी सुनिताविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्