काठमाडौं, ३० मंसिर– आफ्नै कार्यकर्ताले एमाले बझाङका सांसद लालबहादुर रावतमाथि हातपात गरेका छन् ।

काँडा गाविसलाई छुट्टै गाउँपालिकाको माग गर्दै नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा ज्ञापनपत्र बुझाउन आएका कार्यकर्ता मध्येका एकले उनीमाथि हातपात गरेका हुन् ।
सोही माग सम्बोधन गराउन प्रमुख दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउन आएका र त्यसको समर्थनमा सांसद रावतले हस्ताक्षर नगरेपछि आक्रोशित कार्यकर्ताले नै उनीमाथि हातपात गरेको बताइएको छ ।
रावतले भने कार्यकर्तासँग सामान्य विवाद भएको प्रतिक्रिया दिएका छन् ।
उनले राजनीतिमा कहिलेकाँही तनाव हुनु स्वभाविकै हुने बताउँदै त्यसलाई उचालेर समाचार बनाउन नहुने उल्लेख गरे ।
जिल्लास्तरिय प्राविधिक समितिले तोकेको गाउँपालिकाको केन्द्र चार घण्टाको पैदल दुरीमा राख्ने मापदण्ड अनुसार काँडा गाविसमा केन्द्र राख्नुपर्ने स्थानीयको माग छ ।
प्राविधिक समितिले ११ वटा मात्र केन्द्र राख्ने निर्णय गरेपछि उनीहरु आन्दोलित बनेका थिए ।