२९ असार २०८३, सोमबार

राप्रपामा चुनाव चिन्ह विवाद: लोहनी र चन्द बोल्दा कमल थापालाई उकुसमुकुस !

कात्तिक २०, २०७४
राप्रपामा चुनाव चिन्ह विवाद: लोहनी र चन्द बोल्दा  कमल थापालाई उकुसमुकुस !
काठमाडौं, २० फागुन – गठन हुने र फुट्ने राजनीतिक दलको भीडमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि अगाडि नै छ ।
२०४६ सालको जनआन्दोलनपछि २०४७ जेठ १५ गते खुलेका दुई राप्रपा (चन्द र थापा) २०७३ सालमा आइपुग्दा विभिन्न कालखण्डमा विभाजन भए ।


विभाजन र एजेन्डाका कारण कमजोर बन्दै गएका पूर्वपञ्चको सो पार्टी पुनःस्थापित हुने उद्देश्य राखेर मंसिर पहिलो साता पुनः एकीकृत त भयो तर एकता महाधिवेशन भएको एक साता बित्न नपाउँदै अर्को विवादमा फँसेको छ ।

चुनाव चिह्नको विषयमा राप्रपाको बिहीवारदेखि जारी केन्द्रीय समिति बैठकमा विवाद चर्कंदै गएको छ । राप्रपाको बैठकमा पार्टीको चुनाव चिह्न र झण्डा गाई या हलो के राख्ने भन्नेमा विवाद देखिएको हो । विवादकै कारण केन्द्रीय समिति बैठक लम्बिनसक्ने एक नेताले लोकान्तरलाई बताए ।

ती नेताका अनुसार बिहीवारको बैठकमा राप्रपा पृष्ठभूमिका नेताहरूले चुनाव चिह्न हलो राखिनुपर्नेमा जोड दिएका थिए भने राप्रपा नेपाल पृष्ठभूमिका नेताहरूले गाईलाई नै चुनाव चिह्नको मान्यता दिलाइनुपर्ने धारणा राखेका थिए ।

राप्रपाका केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने बहुमत केन्द्रीय सदस्यले चुनाव चिह्न गाई नै हुनुपर्ने धारणा राखेको दाबी गरे ।

दुई राप्रपा एकता हुनुअघि राप्रपाको चुनाव चिह्न हलो थियो भने राप्रपा नेपालको गाई थियो ।

पार्टीमा आफ्नो अस्तित्व र प्रतिष्ठा कायम गर्नकै लागि चुनाव चिह्नमा विवाद भएको बताइन्छ ।

बुधवारको बैठकमा राप्रपा नेताहरू प्रकाशचन्द्र लोहनी र पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले चुनाव हलो हुनुपर्ने भन्दै जोडतोडका साथ धारणा राखेका थिए ।

अर्का नेता पशुपतिशमशेर राणा भने बाहिर महत्त्वपूर्ण काम रहेको कारण देखाउँदै एकैछिनमा बैठकबाट बाहिरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

ती केन्द्रीय सदस्यका अनुसार बैठकमा नेता चन्दले राप्रपाको इतिहास हलो भएकाले यसलाई जीवित राख्न चुनाव चिह्न घोषणा गरिनुपर्ने बताए ।

यस्तै लोहनीले पनि हलोलाई नै आधिकारिक चिह्न घोषणा गर्नुपर्ने बताए । फागुन ६ गतेको महाधिवेशन उद्घाटन सभामा पनि चन्द र लोहनीले हलोले भलो गर्ने भन्दै जोडतोडका साथ यो कुरा उठाएका थिए ।

यस्तै बैठकमा बुद्धिमान तामाङसहितका केही नेताहरूले भने विवादले थप समस्या निम्तिने भन्दै साझा मिलनविन्दु खोजिनुपर्नेमा जोड दिएका थिए । साझा मिलनविन्दुमा झण्डामा एउटा चिह्न र चुनाव चिह्नमा अर्को गरेर तालमेल मिलाइनुपर्ने प्रस्ताव गरेको बैठकमा सहभागी नेताहरूको भनाइ छ ।

दुई फरक एजेण्डा बोकेका दुई कित्तामा विभाजित तत्कालीन राप्रपा नेपाल (कमल थापा) र राप्रपा (पशुपतिशमशेर राणा) बीच मंसिर ६ गते एकता भएको थियो ।

वैकल्पिक राष्ट्रवादी शक्ति बनाउने उद्देश्य बोकेर एकीकरण भएको भनिएपनि एजेण्डाको विषमया त्यतिबेला स्पष्ट सहमति भएको थिएन । पार्टीको झण्डा र चुनाव चिह्नको विषयमा पनि कुरा मिलेको थिएन ।

पार्टीको एजेण्डा, चुनाव चिह्न, झण्डालगायतका विषयलाई महाधिवेशनबाट टुंग्याउने राप्रपामा सहमति भएको भएपनि फागुन पहिलो साता सम्पन्न एकता महाधिवेशनले राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको एजेण्डा पारित गरेपनि प्रतिष्ठाको विषय बनेको पार्टीको झण्डा र चुनाव चिह्नबारेको विषयमा भने विवादै कायम रहेको थियो ।

सो विषयलाई ‘पछि टुंग्याउने’ महाधिवेशनमा नेताहरूबीच सहमति भएपनि अहिले निर्वाचन आयोगमा झण्डा र चुनाव चिह्नको आधिकारिकता प्रस्तुत गर्नुपर्ने भएपछि सो विषय पार्टीभित्र पेचिलो बन्दै गएको हो ।

आफ्नो धारणा राख्न चाहने केन्द्रीय सदस्यहरू बढेपछि बैठक आजको लागि पनि बोलाइएको छ । राप्रपाका नेताहरूका अनुसार आजको बैठकमा चुनाव चिह्न हलो या गाई के राख्ने भन्ने गम्भीर विषयमा छलफल हुनेछ ।

स्रोतका अनुसार अध्यक्ष कमल थापाले चुनाव चिह्न गाई नै कायम राख्न चाहेका छन् । तर वरिष्ठ नेताहरूले बैठकमा चुनाव चिह्न हलो राख्नुपर्ने भनी जोडतोडका साथ आवाज उठाएपछि थापा समस्यामा परेको बताइन्छ ।

राप्रपा नेपालमा हुँदा विगतमा थापाले हरेक निर्णय एकलौटी रूपमा गर्दै आएको आरोप लाग्ने गरेको थियो । एकतापछि भने थापाले अन्य नेताहरूको आवाजलाई समेटेर अघि बढ्छन् कि विगतमा जस्तै पेलेर जान्छन्, त्यो भने हेर्न बाँकी छ ।

तर एकसाताअघि पार्टीको अध्यक्षमा निर्वाचित भएसँगै थापाले सबैलाई समेटेर पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्