०८ साउन २०८३, शुक्रबार

सीपले दियो समृद्धि, निरक्षर महिला मासिक २५ हजार कमाउँदै

कात्तिक २०, २०७४
सीपले दियो समृद्धि, निरक्षर महिला मासिक २५ हजार कमाउँदै
काभ्रेपलाञ्चोक, २० फागुन — साइँली दिदी, बनेपाको बुडोलमा बस्छिन् । सामान्य अक्षर समेत नचिनेकी साइँलीको कमाइ भने मासिक २५ हजारभन्दा माथि छ । काभ्रेको मच्छे गाविस वडा नं. ६ कि साइली दिदी परिवारी साइँली छोरी हुन् । ठूलीमाया तामाङ उनको नाम भएपनि उनलाई सबैले साइँली दिदी भनेरै बोलाउने गर्छन् ।

थाङ्का बुनेर आफ्नो पाँचजनाको परिवार मज्जैले धानेकी साइँली दिदी श्रीमानलाई समेत पकेट खर्च दिन्छिन् ।
बाल्य अवस्थामा सिकेको थाङ्का लेखन र गलैंचा बुन्ने काम यत्तिखेर उनका लागि सुनको फुल पार्ने कुखुरा भएको छ । ‘पन्ध्र वर्षको उमेरदेखि थाङ्का बुन्न सिकेकी थिए तर यही मेरो पेशा होला भन्ने सोचेकी पनि थिइनँ,’ साइँलीले सुनाइन् । थाङ्का र गलैंचा बुन्ने कामबाट मासिक २५ हजारभन्दा बढी कमाउने गरेको उनी सुनाउँछिन् ।

सामान्य अक्षर समेत नचिनेकी साइँलीको कमाइ देख्दा नलोभिने कमै छन् । “पहिला त शुरुमा केही गरौंला सक्छु भन्ने सोच समेत थिएन, पढेकी पनि थिइनँ, तर जिस्कँदा जिस्कँदै सिकेको थाङ्का बुन्ने कामले मेरो भविष्य यति सुन्दर बनाइदियो,” उनले गर्वका साथ सुनाइन् ।

मेहनत आफ्नै घरदैलोमा गरेपनि राम्रो आम्दानी गर्न सकिने रहेछ, पैसा कमाउनका लागि विदेश जानैपर्छ भन्ने हुँदो रहेनछ उनी भन्छिन् ।

साइँली दिदीका तीन सन्तान छन् । दुई छोरा र एक छोरी, श्रीमान् अनि उनी समेत गरी पाँचजनाको सुखी परिवार छ । थाङ्का बुनेरै छोराछोरीलाई निजी विद्यालयमै अध्ययन गराउने गरेकी साइँली आफूले जस्तै अरूले पनि थाङ्का पेशा रोजे राम्रो कमाइ हुने सुनाउँछिन् ।

मेच्छे–६ की लालमाया तामाङ उमेरले ३३ वर्षकी भइन् । साइँली दिदीसँगै थाङ्का बुन्ने लालमायाको पनि कथा उस्तै छ । उनको सोचाइ पनि जिन्दगीमा केही गर्न सकिँदैन कि भन्ने थियो । तर थाङ्काले उनको जिन्दगीमा नयाँ जोश र ऊर्जा भरिदिएको छ ।

लालमाया आफ्नो घरेलु उत्पादनलाई कसरी विदेशी बजारसम्म पु–याउने भन्ने योजनामा छिन् । उनी आफ्नो थाङ्का र गलैंचा बुनाइलाई परिमार्जन गर्नका लागि विभिन्न ठाउँमा घुम्ने गर्छिन् ।

काठमाडौंको बौद्घतिर उनी आफ्नो उत्पादनलाई कसरी गुणस्तरीय र आकर्षक बनाउने भनेर हेर्न जाने गरेको समेत सुनाउँछिन् । थाङ्का र गलैंचा उत्पादन गर्न सके राम्रो कमाइ हुने उनको अनुभव छ ।

जिल्लाको दुर्गम मानिने मेच्छेकी स्मृति वाइवाको दैनिकी पनि गलैंचा कारखानामै बित्छ । भुइँचालोको कारण आफ्नो परिवार जोखिममा परेपछि विस्थापित २० वर्षकी वाइवा जीविकोपार्जनका लागि यो पेशामा संलग्न छिन् ।
पन्ध्र वर्षदेखि गलैंचा बुन्न सिकेकी वाइवा बिहान उज्यालो नहुँदै कारखाना पस्छिन् । ‘आफ्नो खेतबारी केही छैन, अरू काम पनि छैन, बिहान उठेपछि के गर्ने भन्ने हुन्छ, त्यसैले सबेरै कारखाना आउँछु,’ वाइवाले सुनाइन् । जानेको सीपअनुसार काम गर्न पाएकोमा वाइवा खुशी छिन् ।

उनका अनुसार अहिले ६ जना गाउँका महिलाहरू बनेपामा डेरा गरी सामूहिक रूपमा गलंैचा र थाङ्का बुन्ने काम गर्छन् ।

निम्न आयस्रोत भएका महिलाको लागि यो कारखाना अहिले आयस्रोतको गतिलो माध्यम बनेको छ । कतिपय विस्थापित परिवारको एक मात्र आयस्रोत यही कारखाना भएको उनीहरू बताउँछन् । घरखर्च धान्ने, छोराछोरी पढाउने आयस्रोतको माध्यम गलैंचा कारखाना बनेको छ ।

नेपाली महिलामा श्रीमानले काम गर्ने र श्रीमतीहरू घरमा टिभी सिरियल हेरेर बस्ने संस्कार रहँदै आएकोमा काभ्रेका महिलाहरूको मेहनत नेपालका अन्य क्षेत्रका महिलाका लागि प्रेरणाको विषय बन्न सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्