३१ असार २०८३, बुधबार

कैलाली जिल्ला प्रशासन कार्यालयको गम्भीर त्रुटी, पूर्वकमैयालाई जन्म मिति नै नभएकाे नागरिकता वितरण

मंसिर ११, २०७५
कैलाली जिल्ला प्रशासन कार्यालयको गम्भीर त्रुटी, पूर्वकमैयालाई जन्म मिति नै नभएकाे नागरिकता वितरण

धनगढी– जिल्ला प्रशासन कार्यालय कैलालीले जन्म मिति नै उल्लेख नगरी नागरिकता जारी गरेको तथ्य फेला परेको छ ।

कैलाली प्रशासनले लेखपढ गर्न नजान्ने पूर्वकमैया समेत रहेका गौरीगंगा नगरपालिका–१० का करिब ७३ वर्षिय श्रीराम चौधरीलाई विना जन्म मितिको नागरिकता दिएको तथ्य फेला परेको हो ।

आफ्ना भाईले वृद्धभत्ता पाउन थालेपछि आफूले पनि बृद्ध भत्ताको लागि उमेर पुग्यो कि ? भनेर छिमेकीलाई नागरिकता हेर्न लगाएपछि मात्रै नागरिकतामा अाफ्नाे जन्म मिति नै उल्लेख नभएकाे थाहा पाएको चाैधरीले बताए । त्यस्तै गाउँमा विद्युत सेवा लिन पनि नागरिकता नै चाहिएपछि उनको विना जन्ममितिको नागरिकताको तथ्य वाहिर आएको हो । 

उनले विना जन्म मितिको नागरिकताकै कारण आफू वृद्धभत्तासहित अन्य सेवा सुबिधाबाट समेत बञ्चित हुँदै आएको दुखेसो सुनाए ।

‘म एउटा पूर्वकमैया हो । पढे लेखेको छैन । नागरिकताको प्रतिलिपी पाएपछि घर फर्के । उतिबेला काम पनि लागेन । म भन्दा कान्छो उमेरको भाईले बृद्ध भत्ता पाउन थालेपछि वडा कार्यालयमा गएर नागरिकता देखाउँदा थाहा पाए’, लोकान्तरलाई दुखेसो सुनाउँदै उनले भने, ‘१४ वर्ष कठरियाको घरमा, ६ वर्ष लिक्माका जमिनदारको घरमा र १ वर्ष ऐंठाको जमिनदारको घरमा कमैया बसे । कमैया मुक्तिपछि शिविरमा बस्दै आएको छु । नागरिकताको कारण मेरो घरमा अझैसम्म विद्युत जडान गर्न पाएको छैन ।’

उनी १४ वर्षको उमेर हुँदादेखि साविक उदासीपुर ८ लौसाका जमिनदार बेदम कठरियाको घरमा कमैया बसेका थिए । उनको नागरिकताको ठेगाना पनि साविक उदासीपुर–८ लौसा उल्लेख गरिएको छ भने उनको नारिकता कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी नन्दकुमार कार्कीले प्रमाणित गरेका छन् । प्रजिअ कार्की २०३६ मा कैलालीमा कार्यरत रहेको प्रशासनको तथ्यांकमा उल्लेख छ ।

नागरिकता च्यातिएपछि उनी जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि निकालेका थिए । तर प्रतिलिपि लिने क्रममा यस्तो लापरबाही भएको पाइएको हो । उनले पाएको नागरिकताको दर्ता नं. १४२१ नम्बर भएपनि प्रशासनको रेकर्ड फाइल एंव कम्प्युटरमा समेत भेटिएको छैन । जुनकारण उनी थप समस्यामा परेका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले नागरिकतामा गम्भीर त्रुटी भएको स्वीकार गर्दै चौधरीको नयाँ नागरिकताको लागि सम्बन्धित वडा कार्यालयलाई सिफारिस गर्न पत्रचार गरेको जानकारी दिए । 

साथै नागरिकता देखिने त्रुटी आगामी दिनमा नदोहोर्‍याउन मातहतका कर्मचारीलाई निर्देशन समेत दिएको प्रजिअ श्रेष्ठले बताए ।

salt training

कमेन्ट गर्नुहोस्