
विराटनगर – विराटचौक–विराटनगर भित्रि सडक खण्डमा बुधवार राति एकाएक माइक्रो बसमा आगो लाग्यो । केही क्षणमा नै माइक्रोबस जलेर कामै नलाग्ने भयो ।
राति करीब ११ बजे भएको आगजनीपछि प्रहरी कार्यालयमा फोन गयो । ग्रामथान गाउँपालिका–६ स्थित मसान चोकमा माइक्रो बसमा अज्ञात समूहले आगजनी गर्यो, मोबाइल र धनमाल समेत चोरेर लग्यो ।
रामेछापको मन्थली नगरपालिका–५ बस्ने ४८ वर्षीय शम्भु कार्कीले चलाएको बा३ख ८०७४ नम्बरको माइक्रो बसमा आगजनी भएको थियो । आगजनी भएको खबर थाहा पाएको इलाका प्रहरी कार्यालय हरैचाको टोली र इलाका प्रहरी कार्यालय बेलवारीबाट तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
करीब आधा घण्टाको फरकमा पुगेको टोलीसहित स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइयो ।
आगोले माइक्रो बसको इन्जिनको भागबाहेक अन्य भाग पूर्णरुपमा जलेर क्षति भएको छ । आगलागीको कारणबारे अज्ञात भएको थाहा पाएको प्रहरीले त्यही माइक्रो बसका चालक शम्भु कार्की र सहचालक रामेछापको लिखु गाउँपालिका–५ बस्ने २५ वर्षीय दिनेश बरुवाललाई नियन्त्रणमा लियो ।
भूमिका शंकास्पद लागेर सहचालकलाई नियन्त्रणमा लिनुका साथै चालकको शरीरको दायाँ भागमा आगो लागेर सामान्य घाइते भएकाले उपचारको लागि नोबेल अस्पताल बेलबारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
नियन्त्रणमा लिइएका सहचालकलाई ईलाका प्रहरी कार्यालय बेलवारीमा ल्याएर अनुसन्धान गर्दा आफ्नो गाडी पुरानो भई ऋण समेत चुक्ता गर्न नसकेको, बीमा लगायत अन्य क्षतिपूर्ति प्राप्त गर्ने योजनाबद्ध रूपमा आफैंले पेट्रोल छर्किएर जलाएको पाइएको डीएसपी श्रेष्ठले बताए ।