
खेमराज गैराघरे
भ्रष्टलाई फूलमाला र जोर घडा छ देशमा ।
अझै पनि गुण्डाहरूकै, अखडा छ देशमा ।।
जवानहरू खाडीमा छन्, उन्यु फुल्छ खेतमा ।
साँझ बिहान छाक् टार्नलाई बगडा छ देशमा ।
भोट हाल्दै सकिने भो हाम्रा बाको जीवन ।
राजनीतिमा अझै पनि लफडा छ देशमा ।
भेटिएनन् अझै पनि हराएका छोराहरू ।
जङ्गलमा भेटिएको कपडा छ देशमा ।
न्याय माग्दा मरे उनी, दाहसंस्कार भाको छैन ।
जन्म कैद भए पनि उकडा छ देशमा ।।
इलाम (हाल अमेरिका)