
धादिङ– नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेलाले पार्टीको विधान संशोधनको माग गरेको छ ।
कोषाध्यक्षहरूको राष्ट्रिय समितिका अध्यक्ष गोविन्द पुडासैनीले शनिवार धादिङबेंसीमा पत्रकार सम्मेलन गरी मंसिर १४ र १५ गते घाटबेसीमा सम्पन्न भेलाले विधान संशोधनको १३ प्रस्ताव र समसामयिक राजनीतिसम्बन्धी ५ प्रस्तावबारे जानकारी दिए ।
भेलाले पार्टीका सबै तहमा संकलन गरिएको शुल्कको ३० प्रतिशत रकम सोही तहमा आपतकालीन कोष निर्माण गरी राख्ने, पार्टीका सबै तहका पदाधिकारी एवं सदस्य र अनुशासन समिति निर्वाचनद्वारा नै चुनिने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
जिल्ला कार्यसमितिका पदाधिकारी पदेन महाधिवेशन प्रतिनिधि हुनुपर्ने, १ व्यक्तिलाई १ पटक मात्र अवसर दिनुपर्ने, स्थानीय निर्वाचनमा गाउँपालिका तथा नगरपालिकासम्मको उम्मेदवार चयन गर्ने जिम्मा सम्बन्धित जिल्ला समितिलाई दिइनुपर्ने, उपमहानगर, महानगर र जिल्ला समन्वय समितिको उम्मेदवार चयन गर्ने अधिकार प्रदेश समितिलाई अधिकार दिनुपर्ने लगायतका माग भेलाले गरेको छ ।