![राजधानीवासीको कहर: गिद्ध र कागले घरमै ल्याउँछन् सिनो, दुर्गन्धले बस्नै मुस्किल [फोटो/भिडियो]](https://lktcdn2.prixacdn.net/media/cover_1_dnsYNXF1vK.jpg)
काठमाडौं – राजधानीको मध्य भागमा पर्ने कुलेश्वर, टेकु, त्रिपुरेश्वर, थापाथली तथा कुपण्डोल क्षेत्रका बासिन्दा वाग्मती नदीबाट आउने ढलको दुर्गन्धले आजित बनेका छन् ।
नदीमा पानीभन्दा बढी ढल बग्छ । किनारमा फोहोरका डंगुर छन् । कुपण्डोल–थापाथली वाग्मती पुल हुँदै यात्रा गर्ने यात्रुहरू नाक नथुनी हिँड्न सक्ने अवस्था छैन ।
घरबाट निस्किने फोहारदेखि मरेका गाईवस्तु तथा कुकुरको सिनो किनारमै फालिएका छन् ।
वाग्मती सरसफाई अभियानले ३००औं हप्ता छुने बेला भइसक्यो, तर यस क्षेत्रमा अनुभूति हुने गरी सरसफाईको प्रभाव देखिएको छैन। आसपासका वासिन्दाको फहोर र ढल निर्धक्कसँग वाग्मतीमै मिसिइरहेको छ ।

‘एक-दुईपटक आएका थिए, त्यसपछि कोही आएका छैनन्,’ त्रिपुरेश्वरबाट सानेपातर्फ जाने पुलको छेवैमा बस्ने हरि सापकोटाले भने, ‘हामी पनि फोहोर नदी किनारमा नै फाल्ने हो । फोहोर लिन आउँदैनन्, अन्त फाल्ने ठाउँ पनि छैन, कहाँ फाल्नु त ?’ उनी यस क्षेत्रमा बस्दै आएको १० वर्ष बितिसकेको छ ।
यस्तै गुनासो कुलेश्वरस्थित पुलको छेउमा घर भएकी सरिता राईको पनि छ । काखमा सानो छोरा च्याप्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, ‘सिनो पनि यहीँ फालिएको छ । गिद्ध र कौवाले घरघरमै ल्याउँछन्, हामीलाई बाँच्नै गाह्रो छ । सफा गर्न कोही आउँदैनन् । फलफूल बजारबाट निस्केको सबै फोहोर यही किनारमा फाल्छन्, गन्हाएर बस्नै गाह्रो भो । घर नै बेचेर अरु ठाउँमा सर्ने सोचेका छौं ।’
त्यहाँ नजिकै रहेको बंगुर बधशालाले पनि दुर्गन्ध बढाएको छ ।

प्रदूषण र दुर्गन्धले गर्दा त्यस क्षेत्रमा बसोबास गर्नेहरू बिरामी पनि पर्ने गरेको पुलमा काम गर्दै गरेका ज्यामी रामबाबु यादवले बताए ।
यस्तो समस्या भएको वर्षौं बितिसक्यो, तर न सरकार न त स्थानीय कोही पनि यसबारे गम्भीर बन्न सकेका छैनन् ।
हेर्नुहोस्, भिडियो :
थप तस्वीरहरू :










