
दमक– भूटानी रिकन्सिलेसन कमिटीले भूटानी शरणार्थीलाई ससम्मान स्वदेश फिर्तीको पहल गरिदिन नेपाल सरकारसँग माग गरेकाे छ ।
कमिटीले साेमवार पूर्वी झापा र मोरङका दुई शिविरमा बस्दैआएका शरणार्थीलाई स्वदेश फिर्ता गरिदिन माग गरेकाे हाे । भूटानी शरणार्थीको स्वदेश फिर्ती मुद्दा केवल भूटानी शरणार्थीको मात्र सम्बन्धित नभएको जनाउँदै कमिटीले विश्वका शरणार्थी समुदाय, विश्वव्यापी मानवअधिकारको घोषणा, आत्मसम्मान र राष्ट्रियतासँग नै जोडिएको हुँदा त्यसमा गम्भीर भइदिन अपिल गरिएको कमिटीका अध्यक्ष कृष्णवीर तामाङले उल्लेख गरे ।
अपिलमा सुरक्षित स्वदेश फिर्तीसँगैसँगै उचित क्षतिपूर्ति तथा पुनर्वासको सुविधा, नागरिकताको पुनर्बहाली र समग्र क्षमादान मागलाई समेत जोड्दार उठाइदिन सरकारसँग माग गरिएको उल्लेख छ ।
कमिटीले अपिलमा तेस्रो मुलुक पुनर्वासपछि शिविरमा बाँकी रहेका शरणार्थीलाई नेपालमा नै स्थानीयकरण गराए नेपालका लागि नै आत्मघाती हुने भन्दै त्यसो नगर्न भनिएको छ ।
कमिटीले दातृ संस्थाले दिँदै आएको राहत सामग्री बन्द गर्ने घोषणा गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शिविरमा बसिञ्जेलसम्म दिँदै आएको राहत सामग्री कटौती तथा बन्द नगरिदिन सम्बद्ध दातृसंस्थालाई समेत आग्रह गरिएको जनाइएको छ ।