
काठमाडौं–प्रदेश नम्बर तीनका सांसद केशव स्थापितले वामदेव गौतमले एमाले फुटाएर माले बनाउँदा आफूले २७ करोड उठाएको बताएका छन् ।
नयाँ पत्रिकासँगको एक अन्तर्वार्तामा उनले तत्कालिन एमालेको नेपालगन्ज महाधिवेशनमा पार्टीमा विचलन आएको र महाकालीको मुद्दामा पार्टी दुई ध्रुवमा बाँडिएका कारण विभाजन निम्तिएको बताएका छन् ।
‘महाकाली सन्धि विरोधीमाथि एउटा पक्ष खनिएकै हो । बोल्न नदिएकै हो । महाधिवेशनमा त सबै पक्षले आफ्नो तर्क प्रस्तुत गर्न पाउनुपर्योख नि ’, उनले भनेका छन्, ‘ त्यस घटनापछि पार्टी विभाजन हुनुअघि कमरेड मनमोहन अधिकारीले ‘पार्टी विभाजन गर्ने भए म आत्मदाह गर्छु, अनशन बस्छु’ भनिदिएको भए के हुन्थ्यो ? मलाई लाग्छ पार्टी विभाजन हुँदैनथ्यो । तर, एउटा खेमाले त मनमोहन कमरेडलाई होटेलमा राखेर हामीसँग भेटघाट गर्नसमेत दिएन ।’
उनले त्यसवेला आफू पार्टी विभाजन नै गर्न सक्ने हैसियतको मान्छे नभएको भन्दै वामदेव गौतमले धेरै पैसा जोहो गर्नुपर्छ भनेपछि आफूले साथ दिएको बताएका छन् ।
‘काठमाडौैं महानगरपालिकाको मेयर भएको हुँदा मसँग एउटा पंक्ति थियो । अर्को मेरो एउटा बोली बिक्थ्यो । त्यसैले, दुई–चार दिन चाँडो मेरो कारणले पार्टी विभाजन भएको हो ’, उनले भनेका छन्, ‘विभाजनअगाडि वामदेव कमरेडले ‘धेरै पैसाको जोहो गर्नुपर्छ,’ भन्नुभयो । मैले ‘आँट गर्नुस्, अगाडि बढ्नुस्’ भनेर भनेको हो । उपत्यका र बाहिरका धेरै व्यापारीलाई ‘यो पार्टी नम्बर वान हुन्छ, यसमा लगानी गर’ भनेर मैले भनेको हुँ ।’
उनले उठाइएको २७ करोड कुन–कुन ठाउँमा खर्च त्यो चाहिँ आफूलाई थाहा नभएको बताएका छन् ।