
काठमाडौं– पार्टी नीति र संविधानको व्यवस्था विपरीत हिन्दू राष्ट्र पुनस्र्थापनाको कुरा गरेको भन्दै कांग्रेस केन्द्रीय समितिमा महामन्त्री डा. शशांक कोइरालाको आलोचना भएको छ ।
केही केन्द्रीय सदस्यले महामन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिमा लगाम लगाउनुपर्ने माग गरेका छन् ।
काठमाडौंमा जारी बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले महामन्त्रीको अभिव्यक्तिले पार्टीलाई घाटा पुगिरहेको बताए । अर्का केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले पनि हिन्दू धर्मको एजेण्डा उठाएको भन्दै महामन्त्री कोइरालाको आलोचना गरेका थिए ।
अघिल्लो पटक बसेको केन्द्रीय समिति बैठकमा कृष्णप्रसाद सिटौलाले पनि महमन्त्रीले जथाभावी बोल्न नहुने भन्दै आलोचना गरेका थिए । कोइरालाले पटक–पटक हिन्दू राष्ट्रको विषयमा जनमत संग्रह गर्नुपर्ने कुरा उठाउँदै आएका छन् ।
ʻएउटा धर्म विशेषको कुरा गर्नु पार्टी नीति र कांग्रेसको नेतृत्वमा जारी गरिएको संविधान विपरीतको कुरा हो,ʼ विश्वकर्माले केन्द्रीय समिति बैठकमा भनेका थिए, ʻकांग्रेस संस्थापक बीपी कोइरालाले २०१५ सालको चुनावी घोषणा पत्रमा पनि धार्मिक स्वतन्त्रता लेख्नुभएको छ । ७० वर्षको एजेण्डा छाडेर तपाईं धार्मिक स्वतन्त्रताको खिलापमा पार्टीको झण्डा विपरीत जान मिल्छ ?ʼ
कांग्रेसको झण्डामा अंकित चार तारामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता भएकोले धार्मिक स्वतन्त्रता नै कांग्रेसको नीति हुनुपर्ने धारणा राखेको विश्वकर्माले लोकान्तरलाई बताए ।
विश्वकर्माले गणतन्त्र र समावेशीको खिलाफमा बोल्दा पार्टीलाई नोक्सानी भएको बताएका थिए । ʻदेशमा विविधता छ, त्यो कुरालाई हटाउनका लागि कांग्रेस नेतृत्वमा जारी भएको संविधानले समावेशीको मुद्दा मूल रूपमा अपनाएको छ,ʼ उनले भने ʻआरक्षणको विरोधले पार्टीलाई घाटा पुर्याएको छ ।ʼ
पटक–पटक लोकतन्त्रको घाँटी निमोठेको राजतन्त्रलाई गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनले राजालाई हटाएकाले राजतन्त्रबारे सोच्नुपर्छ भन्ने महामन्त्रीको अभिव्यक्तिका विषयमा समेत उनले आलोचना गरेका थिए ।