
बुटवल – ५ नम्बर प्रदेशको हिउँदे अधिवेशन ५ महिनापछि बुधबार (भोलि) देखि शुरू हुँदैछ ।
बर्खे अधिवेशन गत साउन २४ गते सकिएको थियो ।
प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सरकारले बिजनेश उपलब्ध गराउन नसक्दा संसद लामो समयसम्म आह्वान गरिएको थिएन ।
सरकारले पर्याप्त बिजनेश उपलब्ध गराउने बताएको छ । छठ लगत्तै संसद शुरू हुने बताउँदै आएपनि प्रदेश सरकारले प्रदेशको योजना बनाउन सुझाव संकलन थालेपछि अधिवेशन बोलाउन विलम्ब गरेको हो ।
दोस्रो अधिवेशनबाट पारित भइ प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका सभामुखले पढेर सुनाउने, संसदमा सांसदलाई बोल्न समय दिने, प्रदेशको जाँचबुझ आयोग गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, संघसंस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक पेश गर्ने कार्यसूची छ ।
प्रदेशको नामाकरण र राजधानीका लागि सुझाव संकलन गर्ने विशेष समितिको संयोजक र विशेषाधिकार समितिको सभापति सभाबारे संसदलाई जानकारी गराउने र समितिको समय थपबारे पनि सभालाई जानकारी गराउने कार्यसूची रहेको प्रदेसभा सचिवलायका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
लामो समय संसद नचल्दा प्रदेश सभाका धेरै महत्त्वपूर्ण कामहरू अगाडि बढ्न सकेका छैनन् ।
प्रदेशको मुख्य काम प्रदेशको नामाकरण र राजधानीको विषयले अझै संसदमा प्रवेश पाउन सकेको छैन । प्रदेश ६, ७ र ४ ले प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय टुंग्याएर अन्य काम शुरू गरेपनि अन्य प्रदेशले राजधानी र नामाकरणको विषय टुंग्याउन सकेका छैनन् ।