
काठमाडौं — भारतीय हास्यकलाकार कपिल शर्माले बुधवार प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका छन् । गिन्नीको शहर जालन्धरमा बिहे भएको हो ।
बिहेपछि नवविवाहित जोडीको तस्वीर सार्वजनिक भएको छ । कपिल र गिन्नी शाही अन्दाजमा देखिएका छन् ।
कपिलले हरियो रंगको शेरवानी अनि क्रीम कलरको पगडी लगाएका देखिन्छन् । उनको हातमा तरवार देखिन्छ ।
गिन्नीले रातो रंगको लहंगा लगाएकी देखिन्छिन् । लहंगामा सुनौलो कारचोपी गरिएको देखिन्छ ।
कपिलको पञ्जाबी बिहेमा अनेकौं टीभी स्टार संलग्न रहे । बिहेमा सुमोना चक्रवर्ती, कृष्णा अभिषेक, राजीव ठाकुर, भारती सिंह, चन्दन प्रभाकर लगायतका कलाकार थिए ।
गिन्नी कलेज पढ्दाको दिनदेखि नै कपिलकी साथी हुन् । दुवै स्टार वानको सिरियल हँस बलिएमा सँगै देखिएका थिए ।
कपिलले जन्ती लिएर जालन्धर जाँदा प्रशंसकहरूको भीड थियो । सबैजना दुलाहालाई हेर्न उत्सुक थिए । भीड बढेपछि कपिलले सुरक्षा गार्डको सहयोग लिनुपरेको थियो । कपिलले सुरक्षा व्यवस्थाका लागि १० लाख भारु खर्च गरेको
बताइन्छ ।
विवाहस्थललाई रातो र सेतो फूलले सजाइएको थियो । सामाजिक सञ्जालमा कपिलको बिहेको तस्वीर भाइरल भइरहेको छ ।
बिहेमा लोकनर्तकहरूलाई बोलाइएको थियो ।
कपिलले आफ्नो शहर अमृतसरमा शुक्रवार प्रीतिभोज दिँदैछन् ।
अनि दोस्रो प्रीतिभोज उनले २४ डिसेम्बरमा मुम्बईमा दिनेछन् । त्यसमा उनले फिल्म र टीभी उद्योगका साथीहरूलाई बोलाएका छन् ।
उनको कमेडी शो अनएयर हुँदैछ ।







एजेन्सी