२६ असार २०८३, शुक्रबार

अयोध्याबाट आएका जन्तीलाई ५६ परिकार खुवाएपछि कम्बल ओढाएर बिदाइ

मंसिर २७, २०७५
अयोध्याबाट आएका जन्तीलाई ५६ परिकार खुवाएपछि कम्बल ओढाएर बिदाइ

जनकपुरधाम – सीताराम विवाह पञ्चमीमा जनकपुरधाम आएका जन्तीलाई ५६ परिकारको खाना खुवाएपछि कम्बल ओढाएर बिदाइ गरिएको छ ।

विवाह भएको भोलिपल्ट मर्यादा सहितको भोजन गराएर वस्त्र प्रदान गरी जन्तीलाई बिदा गरिने प्रचलनलाई ‘राम कलेबा’ भन्ने गरिएको छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशनदास वैष्णवका अनुसार प्रत्येक वर्ष सीताराम विवाहपञ्चमीमा जन्तीलाई ५६ परिकारसहित भोजन गराएर कम्बल प्रदान गरी बिदाइ गर्ने गरिएको छ । बिदाइ गर्ने बेलामा दक्षिणा समेत दिने गरिन्छ ।

बिहीवारको खानामा महाप्रसाद भात, दाल, शाही पनिर, मटर पनिर, पालक पनिर, आलु काउलीको मिक्स तरकारी, विभिन्न ४–५ किसिमका अन्य तरकारी, आलु, काउली, फर्सी, लौकासहित विभिन्न परिकारका तरुवा, विभिन्न परिकारका भुजिया, साग, धात्रिकको चट्नी, ओलको चट्नी, चामलको खीर, मखानको खीर (तसमई ), पूरी, बुनिया, विभिन्न किसिमका चिप्स, तिलौरी, रसगुल्ला, लालमोहन, पेडा, घ्यू, दही, चिनीसहित ५६ परिकार तयार भएको खाना पकाइरहेका भारतको दरभंगाका राम सोगारथ मण्डलले बताए ।

प्रत्येक दिन करीब–करीब १० हजार जति मानिसले दिनहुँ खाना खाएको उनले बताए । दिनमा १२ बजेदेखि ४ बजेसम्म र राति ९ बजेदेखि १२ बजेसम्म प्रत्येक दिन खाना खुवाउने गरिएको थियो । शुरूका २ दिनमा १० हजारसम्म मानिसले खाना खाएपनि तेस्रो दिनदेखि स्वयम्बरसम्म करीब १ लाखभन्दा बढीले खाना खाएको मुख्य ठेकेदार भारत दरभंगाका शंकर पोद्दारले बताए ।

दरभंगाबाट १० क्विन्टल बेसन, १ हजार टिन तेल (प्रत्येक टिनमा १५ लिटर तेल अटाउँछ), १ सय क्विन्टल चिनी, बोराको बोरा चामल, चना, तरकारी, लगायत सबै खानेकुराको सामान ट्रकमा दरभंगाबाट आएको पोद्दारले बताए ।

उनका अनुसार करीब–करीब भारतीय २ करोड रुपैयाँ जतिको सामान उताबाट आएको हो । भारतको दरभंगा पोखरामका पवन झाले सबै सामान दिलाएका हुन् । झा मुम्बईमा कुरियरको व्यवसाय गर्छन् ।

टेन्ट र खाना पकाउने भाडा मात्र यहाँबाट लिएको र बाँकी सबै सामान पवन झाले दरभंगाबाट ट्रकमा ल्याएको पोद्दारले बताए । ‘हामी १ सय ५० जना लेबर, मिस्त्री आएका छौं । दरभंगा फर्केपछि पवन जीले हामीलाई हिसाब गरेर पैसा दिने गर्छन्,’ उनले भने ।

वर्षाैदेखि भारतका पवन झाले नै सबै खानेकुराको प्रबन्ध गर्दै आएको जानकी मन्दिरका मूल महन्थ राम तपेश्वरदास वैष्णवले बताए ।

salt training

कमेन्ट गर्नुहोस्