१० साउन २०८३, आइतबार

प्रदेश ५ मा एकैदिन २ ठूला दुर्घटना, बेहुलाका आमाबाबुसहित ९ को मृत्यु

मंसिर २७, २०७५
प्रदेश ५ मा एकैदिन २ ठूला दुर्घटना, बेहुलाका आमाबाबुसहित ९ को मृत्यु

काठमाडौं– प्रदेश ५ मा बिहिबार एकैदिन भएका दुई दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन् । 

 पाल्पाको जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् । 

जिप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको घट्नास्थलमा रहनुभएका पुर्वखोला गाउँपालिका–२ जल्पाका वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिए । 

मृतकको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । 

यसअघि दाङमा भएको जीप दुर्घटनामा बेहुलाको आमाबाबुसहित ६ जनाले ज्यान गुमाएका छन् । 

 चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक गए राति पौने २ बजे एकापसमा ठोक्किँदा स्कारपियोमा सवार आठमध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयकाअनुसार मृत्य हुनेमा बेहुलाका बाबु राप्तीसोनारी गाउँपालिका–८ निवासी ५३ वर्षीय मानबहादुर केसी ४५ वर्षीया आमा विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, पाँच वर्षीय प्रवीण केसी, ३१ वर्षीय दीपककुमार खड्का, कोहलपुर–१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।सो दुर्घटनामा चालकसहित अन्य दुई घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ । बेहुला बेहुली भने अर्को गाडीमा रहेको प्रहरीले जनाएको छ । 

यसैबीच आजै रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा१९च ६९३४ नं को बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । 

प्रहरी नायब उपरीक्षक दिपक गिरीकाअनुसार जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

जिपमा सवार रामेछाप खाँडादेवी गाउँपालिका–१ की २१ वर्षीया बेहुली स्विकृति तामाङको बाया हातमा तथा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ का २२ वर्षीय बेहुला लक्ष्मण तामाङको ढाड र छातीमा चोट लागेको छ । बलेफी गाउँपालिका–६ का चालक प्रेम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्