०२ साउन २०८३, शनिबार

फाइबर झोला प्लास्टिक निषेधित क्षेत्रमा उपभोक्तामाझ लोकप्रिय

मंसिर २८, २०७५
फाइबर झोला प्लास्टिक निषेधित क्षेत्रमा उपभोक्तामाझ लोकप्रिय

बुटवल – झट्ट हेर्दा प्लास्टिकको झोला जस्तै । तर प्लास्टिक होइन । अचेल रूपन्देहीका विभिन्न ठाउँमा यस्ता झोलाको प्रयोग बढ्दै गएको पाइएको छ । 

विशेषतः तिलोत्तमा नगरपालिकाले प्लास्टिक निषेधित अभियान सञ्चालन गरेपछि यस्ता फाइबरका झोला प्रयोगमा आएका हुन् ।

हिजोआज फाइबरका झोलाको प्रयोग बढिरहेको हो । फाइबरका झोला समेत प्लास्टिकका झोलाकैं आकार–प्रकार र उस्तै शैलीमा आएका छन् । प्लास्टिक झोलाको विकल्पमा नगरबासीमा बिस्तारै फाइबरको झोला प्रयोग बढ्दै जान थालेको तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेल बताए ।

उत्पादक तथा बिक्रेता फाइबर झोलाको बजारीकरणका लागि पसल–पसल पुग्ने गरेका छन् । केही दिनअघि सकिएको तिलोत्तमा व्यापार मेलामा सबै स्टलले यस्तै प्रकृतिका फाइबर झोला प्रयोग गरे ।

मेला आयोजकले प्लास्टिक झोला, प्लेट, कप, चम्चाको प्रयोगलाई निषेध गरेका थिए । ‘प्लास्टिकको प्रयोगले मानव स्वास्थ्य, वातावरणीय सौन्दर्यमा प्रतिकूल असर परिरहेकाले अब यस्ता सामानको प्रयोग गर्नु हुँदैन भन्ने सचेतना नगरबासीमा बढ्दै गएको छ,’ प्लास्टिक झोला निषेधित अभियानका संयोजक केशवराज न्यौपाने भने, ‘सबैले संकल्प गरेमा नगरलाई प्लास्टिक झोलामुक्त बनाउन गाह्रो छैन ।’ 

नगरपालिकामा विभिन्न संघ–संस्था, क्लव, टोल विकास संस्था, सहकारी लगायतले समेत प्लास्टिक झोलाको विकल्पमा जुट, अल्लो, कपडाबाट बनेका झोला वितरण गर्दै आएका छन् । ‘हामीले १ हजार ५ सय जनालाई १÷१ थान कपडाको झोला प्रदान गर्यौं ।’

तिलोत्तमा बहुमुखी सहकारी संस्थाका अध्यक्ष माधवलाल देवकोटा भने, ‘नगरपालिकाले घोषणा गरेको प्लास्टिक निषेधित अभियान असाध्यैं राम्रो अभियान हो । यसलाई सबैले सहयोग पुर्याउनुपर्छ भनेर हामीले जेठ ६ गते नै निर्णय गरेर सबैलाई एकै पटक दिने हिसाबले असोज ६ गते साधारणसभाको अवसरमा कपडाको झोला वितरण गर्यौं ।’

तिलोत्तमा व्यापार संघले नगरका सबै हाटबजारमा पुगेर फाइबरका झोला वितरण गरिसकेको छ । नगरपालिकाले प्लास्टिक झोलाको विकल्पमा अन्य वस्तुबाट बनेका झोला वा वैकल्पिक साधनको प्रयोग गर्न नगरबासीमा आह्वान गर्दै आएको छ । 

नगरपालिकाको अभियानसँगै फाइबर झोला बनाउने उद्योग नगरमा थपिन थालेका छन् भने रहेका उद्योगले समेत फाइबरका नयाँ–नयाँ आकारप्रकारका झोला बनाउन थालेका छन् । भारतीय सुनौली बजारमा समेत अचेल प्लास्टिक झोलाको प्रयोगमा कडाइ भइरहँदा त्यहाँ प्रयोग हुने फाइबर झोला समेत यहाँ आउन थालेको व्यापारी बताउँछन् । केही महंगो भएपनि प्लास्टिकभन्दा कम वातावरणीय प्रदूषण हुने भएकाले नेपालका विभिन्न नगरपालिकासहित भारतमा समेत अचेल फाइबरको प्रयोग बढ्दै गएको छ । 

२० वर्ष पहिलेसम्म व्यापारीले कागजको थुङ्गामा सामान दिने गर्दथे । प्लास्टिक झोलाको प्रयोग अत्यन्त न्यून थियो । तर पछिल्ला वर्षमा प्लास्टिक झोलाको प्रयोग यत्ति बढेको छ कि फोहोरमैलाको प्रमुख कारण यहीँ नै बनेको छ । नकुहिने फोहोरमैलामा प्लास्टिक अग्रस्थानमा छ । 

प्लास्टिक झोलाको बढ्दो प्रयोगसँगै पानीको स्रोत, जमिन, वायु प्रदूषण, चौपाया तथा खेतीमा हानी पुर्याउनेजस्ता समस्या भित्रिएका छन् । यही हिसाबले प्लास्टिक झोला प्रयोग बढाउँदै जाने हो भने भोलि बंगलादेशको ढाकामा जस्तै ढल तथा नालीमा प्लास्टिकको झोला थुप्रिएर निकास बन्द भई बाढी नआउला भन्न नसकिने जानकार बताउँछन् । 

‘धेरै पहिले पसलमा कुनै पनि सामान किन्न जाँदा घरैबाट झोला लिएर गइन्थ्यो । पसलेले कागजका थुँगामा भरेर वा कागजमा पोको पारेर सामान दिन्थे । ती कागजका थुँगा वा अखबारका टुक्रामा राखेर वा बेरेर ल्याएका सामान तिनबाट झिकेपछि तिनलाई अँगेनामा हालिदिएपछि नष्ट हुन्थे । तर आज दाउरा र भुस चुल्होहरूको प्रयोग हराउँदै गयो ।’

‘ग्यास चुल्हाको जुगसँगै पसलबाट सामानहरू ल्याउँदा सँगै प्लास्टिकका झोलाहरू घरभरि थुप्रिन थाले । प्लास्टिकको महामारी यति बढेर गयो कि खुला सामान किन्यो त्यही प्लास्टिकका झोलामा ल्याउनुपर्ने, प्याकेजिङ सामान त्यही प्लास्टिकका प्याकेटमा हुने, हुँदाहुँदा तरल पदार्थसमेत यिनै प्लास्टिकका बोतलमा हुने प्रचलनले अहिले शहर, बजार, गाउँघर जतासुकै प्लास्टिक उडिरहेको, यत्रतत्र छरिइरहेको, उर्वर खेतहरू प्लास्टिकले ढाकिइरहेको अनि नदीनाला–नहरमा प्लास्टिक बगिरहेको देखिन्छ । यो प्लास्टिकलाई न माटोमा गलाउन सकिने न आगोले डढाएर समाधान हुने,’ तिलोत्तमा वडा नम्बर ८ निवासी डा. मुरारी पराजुलीको भने ।

विश्वका विभिन्न देशले प्लास्टिक झोला प्रयोग नियन्त्रणमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । चीन र आयरल्याण्डले केही शहरमा ‘प्लास्टिक झोला प्रयोग गरेबापत शुल्क लिने’ व्यवस्था गरेका छन् । नयाँदिल्ली र ढाकामा प्लास्टिक झोला प्रयोग गर्नै पाइँदैन । नेपालकै इलाम, तानसेन लगायतका नगरपालिकाले ‘प्लास्टिक झोला पूर्णनिषेध’ गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्