
बुटवल – तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लालाई यस क्षेत्रको एउटा धरोहरका रुपमा विकास गर्न लागिएको छ ।
बुटवल उपमहानगरपालिकाले विशेष गुरूयोजना बनाएर त्यो काम अगाडि बढाइरहेको छ ।
उपमहानगरपालिकाले नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्वर्गीय कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक राख्ने भएको छ ।
नेपाली फौजले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिक स्थल जितगढीको महत्त्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले ९ फिट उचाईको तामाको पूर्णकदको शालिक र ९ फिट उचाईकै झण्डा बनाएर राख्न थालिएको हो ।
अहिले उजिरसिंहको उत्तरतर्फ फर्केको अर्धकदको सानो शालिक छ । अब दक्षिणतर्फ फर्केको पूर्ण कदको बन्नेछ । सोही शालिकको छेउमा विशाल राष्ट्रिय झण्डा फरफराइने छ । दुबै संरचना बनाउन ४४ लाख ५२ हजार ६ सय ८१ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
शुक्रवार निर्माणको शिलन्यास भएको छ । नगर प्रमुख शिवराज सुवेदीले शिलन्यास गर्दै जितगढी राष्ट्रियताको प्रतिक र बुटवलको पहिचानका रुपमा विकास गर्न लागिएको बताए । उनले संरक्षण र सम्बद्र्धनका काममा स्थानीय समुदायको सहयोगको खाँचो रहेको पनि औंल्याए ।
शालिक र राष्ट्रिय झण्डाको टावर निर्माण कम्पनी हेभेन कन्स्ट्रक्सन प्रालिसँग उपमहानगरले ठेक्का सम्झौता समेत गरिसकेको छ । दुवै संरचना २ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । शालिक राख्न जमिनमाथि साढे २ मिटर अग्लो र त्यसमाथि २५ दशमलव ७६ वर्ग मिटर उचाईको बेसमेन्ट बन्ने छ भने झण्डा राख्न २५ वर्ग मिटर उचाईको बेसमेन्ट बनाइने इन्जिनियर धर्मराज ढकालले जानकारी दिए ।
बेसमेन्टमाथि नेपालको राष्ट्रिय झण्डा ४२ फिटको उचाईमा फहराउने छ । शालिकको बेसमेन्टको बाहिरी भाग जितगढी किल्लामा रहेका पुराना इँटाजस्तै देखिने गरी इँटाको आवरण झल्किने गरी बनाइने छ । झण्डाको माथिल्लो टावर स्टिलबाट र भुईको बेसमेन्ट कंक्रिटबाट बन्नेछ ।
जितगढी किल्लाको बेग्लै ऐतिहासिक र पर्यटकीय महत्त्व भएकाले यसको संरक्षण, सम्वद्र्धन र विकासका लागि अघिल्लो आर्थिक वर्ष ५० लाख बजेट छुट्याएर काम थालेको र यसपटक १ करोड बजेट विनियोजन गरी गुरूयोजना बनाइरहेको प्रमुख सुवेदीले बताए ।
जितगढीको छुट्टै गुरुयोजना निर्माण गरेर जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल (वडा नम्बर १) लाई प्राचीन बजार र पुरातात्विक स्थलको रुपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको प्रमुख सुवेदीले बताए ।
उजिरसिंहको पूर्णकदको शालिक स्थापना र नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराउन थालेपछि जितगढी किल्लाको मुहार फेरिने र आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुने उपमहानगरको विश्वास छ ।
विक्रम सम्वत् १८७२ बैशाख ७ गते जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवस समेत मनाउन थालेको थियो ।
हालसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेकोमा उजिरसिंहको पूर्णकदको शालिक र नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएपछि अब जितगढीले मुहार फेर्ने आशा जागेको स्थानीयवासी अगुवा रविन्द्रगोपाल लाकौलको भनाइ छ ।
वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगल श्रेष्ठले किल्ला क्षेत्र अतिक्रमण गरेर बनेका घर र अन्य संरचनालाई उचित मुआब्जा दिएर हटाइने बताए । जितगढीको सामरिक महत्त्वबारे बेलायत सरकारसँग समन्वय गरी बेलायती नागरिकलाई नेपाल भ्रमणका अवसरमा जितगढी किल्लासम्म ल्याउन पहल गरिने पनि उपमहानगरपालिकाको योजना छ ।
जितगढीको विकासका लागि प्रदेश सरकारले १ करोड ५० लाख र संघीय सरकारले ५० लाख बजेट विनियोजन गरेका छन् ।