
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राज्यले नै नागरिकलाई श्रम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
शनिवार वीरेन्द्रनगरमा आयोजना गरिएको प्रशान्ति वृद्धाश्रम केन्द्रको २० औं साधारण सभालाई सम्बोधन गर्दै उनले जनतालाई श्रम गर्ने वातावरण बनाएर अघि बढ्नुको विकल्प नभएको बताए ।
‘जनताले श्रम गर्ने वातावरण पाएको खण्डमा राज्यले थप आयस्रोत पाउँछ,’ उनले भने, ‘त्यसो भएको खण्डमा नागरिकको आर्थिक अवस्था मजबुत हुने र राज्य पनि बलियो हुँदै जान्छ र विकास हुन्छ ।’ तर विगतमा नेपालमा जनताले तिरेको करको सदुपयोग नभएका कारण जनतामा नैराश्यता छाएको उनले बताए ।
‘जनताबाट जम्मा भएको पैसालाई सरकारको नेतृत्व गर्नेले चरम दुरुपयोग गरे । गरीब–गरीब भइरहे । केही सीमित व्यक्ति रातारात धनी भए,’ मुख्यमन्त्री शाहीले भने, ‘अब कर्णालीमा त्यस्तो हुने छैन ।’
मुख्यमन्त्री शाहीले अहिलेका सन्ततिले बृद्ध बा आमाभन्दा पनि मोबाइल र टीभीमा ध्यान केन्द्रित गर्ने गरेकाले आगामी दिनमा हरेक स्थानमा वृद्धाश्रमको आवश्यकता पर्ने बताए ।
‘अहिलेको पुस्तालाई तिम्रो आमा वा बुवा बित्यो भन्ने खबरले दुःख लाग्दैन,’ उनले भने, ‘बस मोबाइलको व्याट्री नसकियोस्, बिजुलीको लाइन नजाओस् । त्यति भए पुग्छ ।’ उनले यस्ता पुस्ताले आमाबुवाको कसरी ख्याल राख्लान् भन्दै वृद्धाश्रममा रहेका १२ जना बृद्धबृद्धालाई सान्त्वना दिए ।
उनले वृद्धबृद्धालाई सन्तुष्ट हुन आग्रह गरे । ‘तपाईले कम्तिमा छोराबुहारी पाउनुभएको छ, भेट्न आउनुहुन्छ । सँगै बस्नुहुन्छ,’ उनले भने, ‘तर हामीले त अहिले नै छोराछोरी नजिक हुँदैनन्, बुढेसकालमा कसरी नजिक होलान् ?’
वृद्धवृद्धा, अपाङ्गता भएका तथा अनाथ बालबालिकाको सुरक्षा, हेरचाहको जिम्मा प्रदेश सरकारको भएको बताउँदै मुख्यमन्त्री शाहीले कर्णालीका कोही पनि अनाथ, असहाय, वृद्धवृद्धाले निराश हुन नपर्ने गरी सरकार अघि बढेको बताए । ‘हामीले अनाथ बालबालिकाका लागि आवास, शिक्षा तथा अपाङ्गता भएका, वृद्धवृद्धाका लागि आश्रम बनाउने गरी बजेट पास गरिसकेका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘अब केही महिनामा नै बजेट कार्यान्वयनमा जान्छ र हामी सबै असहायलाई त्यहाँ राख्ने गरी अघि बढ्ने छौं ।’
उनले अहिले बृद्धा, अनाथ बालबालिकाका लागि न कोही आफन्त रहेको, न राज्य भएको अवस्था रहेको बताउँदै कर्णाली प्रदेश सरकारले त्यस्तो अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता जनाए ।