काठमाडौं– नेपाल भित्रिएपछि हराएको भनिएको ३३ किलो सुन भारतमा फेला परेको छ । गत शुक्रवार कोलकता–दिल्ली राजमार्गस्थित धनकुनी क्षेत्रबाट सुन बरामद भएको हो । ३३ किलो सुन कारको गियर नजिक सानो बाकसमा लुकाइएको अवस्था फेला परेको थियो ।
सुन तस्करीको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक तथा सहसचिव ईश्वरराज पौडेलले कोलकाता–दिल्ली राष्ट्रिय राजमार्गबाट भारतीय राजश्व अनुसन्धान विभागको टोली र भारतीय प्रहरीले बरामद गरेको जानकारी दिए।
नेपालबाट हराएको ३३ किलो परिणामको सुनसहित दुईजना नेपाली पनि पक्राउ परेपछि छानबिन गर्दा त्यही सुन भएको खुलेको उलने बताए । यसबारेमा त्यहाँको राजस्व अनुसन्धान विभागले कोलकातास्थित नेपाली महावाणिज्यदूतावासलाई जानकारी गराइसकेको पौडेलले बताए ।
दुबई हुँदै २०७४ माघमा भित्रिएको यो सुन त्रिभुवन विमानस्थलबाट पास गराइसकेपछि हराएको थियो। ३३ किलो सुन हराएपछि तस्करीमा संलग्न मोरङको उर्लाबारीका चूडामणि उप्रेती गोरेले करेन्ट लगाएर यातना दिँदा एकजना भरिया उर्लाबारीकै सनम शाक्यको ज्यानसमेत गएको थियो।
भारतीय सञ्चारमाध्यममा यस भेटिएको सुनको भिडियो प्रसारण भएका थिए ।