
काठमाडौं–नेपाली कांग्रेसमा पदाधिकारी संख्या थप्न सकिने विषयमा संस्थापन पक्ष लचिलो देखिएको छ । आइतबार राति भएको अनौपचारिक छलफलमा सभापति शेरबहादुर देउवा पदाधिकारीको संख्या थप्ने विषयमा लचिलो भएका हुन् ।
‘पदाधिकारीको संख्या थपेर ८ पुर्याउने विषयमा सभापति सकारात्मक देखिनुभएको छ’ संस्थापन निकटका एक नेताले लोकान्तरलाई बताए ।
छलफलमा सहभागी ती नेताका अनुसार पदाधिकारीमा सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्ष राख्न संस्थापन पक्ष सहमत भएका हुन् । अहिले कांग्रेसमा सभापतिसहित ५ पदाधिकारी रहेन व्यवस्था छ ।
तर पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल भने औपचारिक रूपमा केन्द्रीय समिति बैठक बसेपछि मात्र यो विषय छलफलमा आउने बताउँछन् । पौडेलले लोकान्तरसँग भने ‘अनौपचारिक बैठकमा कसले के भन्यो त्यो महत्तवपूर्ण विषय होइन, आजै दिउँसो केन्द्रीय समितिको बैठक बस्दैछ, त्यसमा पदाधिकारीको विषयमा छलफल हुनेछ ।’
प्रवक्ता विश्वप्रकाश शर्मा पनि पदाधिकारी थप्ने जिम्मेवारी केन्द्रीय समितिको भएको भन्दै अनौपचारिक बैठकमा भएको सहमतिले खास अर्थ नराख्ने तर्क गर्छन् ।
रामचन्द्र पौडेल पक्षीय नेताहरू पदाधिकारीको संख्या बढाएर ११ पुर्याउनु पर्ने अडानमा छन् ।
महासमिति बैठक अघि दुई सातासम्म बसेको कन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी संख्या बढाउने नवढाउने विषयमा सहमति हुन सकेको थिएन ।
शनिवारबाट शुरु भएको कांग्रेसको महासमिति बैठकमा आर्थिक, राजनीतिक, आयव्यय विवरणसहितको प्रतिवेदन महासमिति बैठकमा पेस भएको छ । ति प्रतिवेदनमाथि महासमिति सदस्यहरुले आफ्नो राय पेरश गरेका छन् ।
केन्द्रीय समितिमा सहमति हुन नसकेका कारण विधान संशोधन प्रस्ताव भने महासमिति बैठकमा पेश हुन सकेको छैन ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकले अन्तिम रुपदिएसँगै विधान संशोधन प्रस्ताव आजै महासमिति बैठकमा पेश हुने बताए ।