काठमाडौं — युभेन्टस क्लबका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई करछलीको अभियोगमा दुई वर्षको कारावास सजाय जनवरी २१ मा सुनाइने भएको छ । स्पेनी टोली रियाल मड्रिडमा खेल्ने क्रममा उनले करछली गरेको आरोप छ ।
रोनाल्डोलाई करछलीका चारवटा कसूरमा दोषी पाइएको थियो । आफ्नो इमेजको अधिकारबाट कमाएको पैसा लुकाएकोले उनी वित्तीय दायित्वबाट चुकेको बताइएको छ । कारावास सजायका अलावा रोनाल्डोले लगभग दुई अर्ब
रुपैयाँको जरिवाना तिर्नुपर्नेछ ।
रोनाल्डोले स्पेनी अधिकारीहरूसँग डील गरेर कसूरमा दोष स्वीकार गरेका थिए । उनले १३.५ मिलियन युरोको जरिवाना तिरिसकेका छन् ।
कारावासको सजाय पाएपनि रोनाल्डोले जेल जानुपर्दैन किनकि स्पेनी कानून अनुसार पहिलोपटक कसूर गरेको छ भने दुई वर्षभन्दा कम समयको कारावास सजायमा कारागार जानुपर्दैन ।
रोनाल्डोले स्पेनको राजधानी मड्रिडमा नौ सफल वर्ष बिताएपछि चर्को मूल्यमा युभेन्टस गएका थिए ।
एजेन्सी