२९ असार २०८३, सोमबार

मन्त्रीज्यूका गाडी नै सडकमा पार्किङ ! राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

पुस १२, २०७५
मन्त्रीज्यूका गाडी नै सडकमा पार्किङ ! राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

बुटवल – ५ नम्बर प्रदेशको राजधानी बुटवलमा सवारीसाधन पार्किङको चरम समस्या खड्किएको छ ।

पार्किङस्थल अभाव हुँदा मन्त्रीहरू समेत सडकमै गाडी पार्किङ गर्न बाध्य छन् ।

सर्वसाधारणको चहलपहल हुने सडकमै मन्त्रीका गाडी पार्किङ गरिनु सुरक्षाका दृष्टिकोणले पनि राम्रो होइन र ट्राफिक व्यवस्थापनका दृष्टिले पनि गाडीलाई सडकमा पार्किङ गर्नु हुँदैन ।

प्रदेशका २ मन्त्रालयहरू सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रायल बस पार्कको दायाँ र बायाँ छन् । दुवै मन्त्रीका गाडी सडकमै पार्किङ हुन्छन् । बुटवल प्रदेशको राजधानी भएसँग सवारीसाधनको चाप ह्वात्तै बढेर पार्किङको समस्या बढेको छ ।

व्यवस्थित पार्किङस्थल नहुँदा अधिकांश सवारीसाधन सडकमै पार्किङ गरिन्छन्, मन्त्रीका गाडीसम्म । जसले गर्दा ट्राफिक जामसँगै मुख्य बजार क्षेत्र अस्तव्यस्त हुन थालेको छ ।

पछिल्लो समय बनेको एकाध व्यावसायिक भवनबाहेक अन्यको ‘अन्डरग्राउन्ड’ पार्किङ छैन । बुटवलको मुख्य व्यापारिक केन्द्र अमरपथ, राममन्दिर लाइन, ट्राफिकचोक, बीपीचोक, मिलनचोक, तीनकुने लगायत मुख्य बजारमा साना सवारीसाधनदेखि मोटरसाइकलसम्म सडकमै पार्किङ हुँदा पैदलयात्रुलाई समेत हिँडडुल गर्न समस्या पर्न थालेको छ । 

केही वर्षयता भित्रिएका ई–रिक्साले पनि भित्रिबजारका सडकहरू अस्तव्यस्त बनाएका छन् । ई–रिक्साको व्यवस्थापनमा बुटवल उपमहानगरपालिका उदासीन देखिएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक गणेश चन्दले सवारीसाधनको बढ्दो चापले बुटवलमा ट्राफिक समस्या थामि नसक्नु देखिएको बताउँछन् । ‘गाडी थपिएका थपियै छन् । तर सडक थपिएको छैन,’ एसपी चन्दले भने, ‘अब बुटवलमा ट्राफिक समस्या हटाउन बहुतले पार्किङको आवश्यकता महसुस हुन थाल्यो । अब स्थानीय तहले पार्किङ समस्या हटाउन बहुतले पार्किङस्थल बनाउने योजना अगाडि सार्नुको विकल्प छैन ।’

बुटवलमा पार्किङका लागि खाली जग्गा पनि छैन । बुटवलको ४ लेन सडकमध्ये बसपार्क, हस्पिटल लाइन र ट्राफिक चोकमा सामान्य पार्किङबाहेक अन्य ठाउँमा पार्किङस्थल छैन । पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग यहीबाट जाने भएकाले पनि सवारी चाप उच्च छ । बुटवलमा दैनिक झण्डै सानाठूला ७० हजारभन्दा बढी सवारीसाधन गुड्ने ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ ।

बुटवल उपमहानगरपालिकाले वडा नम्बर १२ नयाँगाउँमा ट्रान्सपोर्ट पार्किङस्थल बनाउने योजना त बनाएको छ, तर व्यवस्थित पार्किङस्थलको योजना अघि सारेको छैन ।

उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले अस्थायी पार्किङका लागि जग्गाको खोजी भइरहेको बताइन । ‘हामीले बुटवल–१२ नयाँगाउँमा टान्सपोर्ट भिलेज बनाउँदै छौं,’ उपप्रमुख आचार्यले भनिन्, ‘अहिले नयाँ बसपार्कलाई पनि अत्याधुनिक बसपार्क बनाउने गरी डीपीआर तयार गर्ने काम भइरहेको छ । उक्त बसपार्कमा बहुतले पार्किङस्थल पनि बनाइने छ । तत्कालका लागि अस्थायी रूपमा अञ्चल अस्पतालको खाली जग्गा प्रयोग गर्नेबारे छलफल भइरहेको छ ।’ आचार्यले थनिन्, ‘हामी प्रदेश सरकारसँग पनि जग्गाको खोजी गर्न छलफल थालेका छौं ।’

प्रदेश मन्त्रालयदेखि संसद् भवन क्षेत्रमा समेत पार्किङ नहुँदा मन्त्रीदेखि सांसदका गाडी सडकमै पार्किङ हुन्छन् । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पार्किङको दीर्घकालीन रूपमा समाधान गर्ने गरी प्रदेश सरकारले काम थाल्ने तयारी गरेको जानकारी दिए । उनले भने, ‘बुटवलमा पार्किङ समस्या जटिल बन्दै छ । यसको दीर्घकालीन समाधान लागि प्रदेश सरकार छिट्टै नयाँ ठाउँको खोजी गरेर अघि बढ्छ ।’ 

ट्राफिक व्यवस्थापनका लागि प्रदेशमा जनशक्ति पनि कम छ । ४ सय ४ जना ट्राफिक प्रहरी कार्यरत छन् । ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक भिमसेन घिमिरेले सवारीसधनको चाप अत्याधिक तर जनशक्ति कम हुँदा ट्राफिक व्यवस्थापन गर्न जटिलता देखिएको बताए ।

‘एक जना ट्राफिक प्रहरीले १९ दशमलव ८ किलोमिटर सडक हेनुपर्ने अवस्था छ,’ घिमिर भन्छन्, ‘१ जना ट्राफिक प्रहरीले १ हजार ६ सय २२ वटा सवारीसाधन हुनुपर्छ । जसले गर्दा काम गर्न ट्राफिक प्रहरीले ठूलो समस्या छ ।’ यथाशीघ्र स्थानीय सरकार र प्रदेश सरकार मिलेर बुटवलमा कम्तिमा ३ ठाउँमा पार्किङस्थल बनाउनुपर्ने जानकारहरू बताउँछन् । 

कमेन्ट गर्नुहोस्