
सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन आयोजना हुने भएको छ । सम्मेलनका लागि मेलम्ची नगरपालिकाको गुफाडाँडा भव्य रूपमा सजाइएको छ । गुफाडाँडामा ग्लोबल वार्मिङको संकेत दिने मूर्ति बनाइएको छ ।
मेलम्ची नगरपालिकाअन्तर्गतको ज्यामिरेको २ हजार ५ सय २० मिटरको उचाइमा रहेको गुफाडाँडामा ग्लोबल वार्मिङको सांकेति मूर्ति बाहेक अन्य पूर्वाधारको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ ।
११ सय रोपनी क्षेत्रफलमा फैलिएको गुफाडाँडामा जलवायु परिर्वतनले देखापरेको विश्वव्यापी समस्यालाई प्रस्तुत गर्न उक्त मूर्ति राखिएको हो ।
पर्यटकीय स्थल गुफाडाँडाबाट जुगल, सुम्सरो हुँदै अन्य जिल्लाको सुन्दरतम हिमशृखंला, नगरकोटजस्ता संरचना अवलोकन गर्न सकिन्छ । पर्यटकीय विकासका लागि टेवा पुर्याउिनुका साथै जलवायुबारे भव्य बहस गर्न सम्मेलनले उद्देश्य लिएको छ ।
यसैगरी सम्मेलनमा सहभागीलाई १० किमि दूरीको सुन्दरीजल सिन्धु सुरुङबाट मेलम्ची लगिनेछ । पर्यटकीय स्थल गुम्बैगुम्बाको सहर हेलम्बु र मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान अवलोकन गराइने कार्यक्रम राखिएको मूल आयोजक समितिका संयोजक तामाङले बताए ।
विभिन्न निकाय र सहयोगी हातबाट संकलनपछि हुने सम्मेलनमा झन्डै १ करोड खर्च हुने अनुमान छ । ‘स्वच्छ नेपाल ,स्वथ्य नेपाल’ को नारा लिएर लोगो सार्वजनिक भइसकेको छ ।
सम्मेलनमा प्रदेश न ३ का मुख्यमन्त्री, मन्त्री, जिल्लाका संघीय सांसद र संसदका प्रतिनिधिदेखि जिल्लाका १२ वटै स्थानीय तहको प्रतिनिधित्व हुनेछ ।
सम्मेलनमा विषयविज्ञ र सम्बन्धित मंन्त्रालयका अधिकारीले जलवायु परिर्वतनसम्बन्धी कार्यपत्र पेस प्रस्तुत गर्दै व्यापकछलफल गरी सिन्धुपाल्चोकको घोषणा पत्र तयार गर्नेछन् ।
सम्मेलनमा ७७ जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको उपस्थिति रहेनछन् । जलवायु परिर्वतनले निम्ताइरहेको असरमाथि पुस १५ देखि तीन दिनसम्म सम्मेलनमा छलफल गरिने जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए ।
मेलम्ची, गोल्माथान, चाँखु हुँदै गुफाडाँडा पुग्ने १६ किलोमिटर सडक मर्मतसम्भार गरिँने काम अन्तिम चरणमा पुगेको मेलम्ची नगरपालिकाका उपमेयर भगवती नेपालले बताइन् । उनका अनुसार बजारबाट गुफाडाँडासम्म आइपुग्न सडक क्षेत्रमा स्वागत ‘गेट ब्यानर’ राख्ने काम अन्तिम चरणमा पुगेको छ ।
तस्वीर श्रोत - प्रभात श्रेष्ठ