काठमाडौं–बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनामा पछिल्लो समय देखिएको अन्योलबारे सदनलाई जानकारी गराउन राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल 'पार्वती'ले सरकारसँग माग गरेकी छन् ।
राष्ट्रिय सभा बैठकमा शुक्रवार विशेष समय लिएर बोल्दै सांसद रावलले मेलम्चीको ठेकेदारले एकतर्फी रूपमा ठेक्का तोडेको र फेरि काममा फर्किने सहमति भएको भन्ने विषयमा यथार्थ जानकारी गराउन माग गरेकी हुन् ।
'सीएमसीको ठेक्का प्रकरण के हो, ठेक्का एकतर्फी रूपमा तोडिएको अनि फेरि काम गर्ने भनी आएको कुरा हो ? सम्बन्धित मन्त्रालयले यो सदनलाई जानकारी गराओस् भन्ने माग गर्न चाहन्छु,' सांसद रावलले भनिन् ।
खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन इकाइ, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महसुल निर्धारण समितिबीच समन्वयको अभाव देखिएको समेत उनले बताइन् ।
लामो समयदेखि प्रतिक्षा गरिएको मेलम्ची आयोजनाले पटक-पटक निर्धारित समय गुजारिसकेको भन्दै उनले अब छिट्टै आयोजना सम्पन्न गर्न खानेपानी मन्त्रालयको ध्यानाकर्षणसमेत गराइन् ।
साथै सांसद रावलले चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीका बासिन्दा वन्यजन्तुको आक्रमणबाट मारिनुपरेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराइन् । साउनयता ५ जनाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको उनले बताइन् । मृत्यु हुनेमध्ये ३ जना माडी नगरपालिका र २ जना पर्साको ठोरी गाउँपालिकाका रहेको उनको भनाइ छ ।
सांसद रावलले २०२९ सालमा बनेको निकुञ्ज ऐन तत्काल संशोधन गर्न माग पनि गरिन् । क्षतिपूर्तिको व्यवस्था ज्यादै पुरानो, न्यून र अव्यवहारिक रहेको भन्दै उनले यसलाई संशोधन गर्नुपर्ने बताइन् ।