२८ जेठ २०८३, बिहीबार

फेवाताल किनारमा २० औं पोखरा सडक महोत्सव

पुस १३, २०७५
फेवाताल किनारमा २० औं पोखरा सडक महोत्सव

पोखरा –पोखराको फेवाताल किनारमा शुक्रवारदेखि २० औं पोखरा सडक महोत्सव शुरू भएको छ ।

महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । उनले प्रदेशको समृद्धिका लागि पर्यटनलाई महत्त्वपूर्ण पाटोको रुपमा लिइएको बताए ।

सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल पार्न पर्यटन व्यवसायीको मुख्य सहयोग आवश्यक रहेको उनले बताए । ‘२० लाख पर्यटक भित्र्याउने गण्डकी प्रदेशको योजनालाई सफल बनाउन व्यवसायीले लगानी गर्नुपर्छ,’ उनले भने ।

पोखरा क्षेत्रको कला, संस्कृति र भेषभूषा जगेर्ना गर्दै आन्तरिक एवम् बाह्य पर्यटक प्रवद्र्धनमा सघाउ पुर्याउने उद्देश्यले आयोजित महोत्सव पुस १७ गतेसम्म चल्नेछ ।

महोत्सव अवधिभर लेकसाइड क्षेत्रको साढे ३ किलोमिटर क्षेत्रलाई दुलहीझैं सिगारिएको छ भने सवारीसाधन आवागमन बन्द गरिएको छ ।

अंग्रेजी नयाँ वर्ष–२०१९ को अवसरमा आयोजित महोत्सव अवधिभर लेकसाइड क्षेत्रका १ सय बढी रेस्टुरेन्ट तथा बारहरू सडकमै उतारेर सडकबाट सेवा दिनेछन् । महोत्सवमा झण्डै १ अर्बभन्दा बढीको बढीको कारोबार हुने अनुमान आयोजकको रहेको छ ।

महोत्सवका प्रमुख आकर्षण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रम, नेपालका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रियस्तरका विभिन्न खानाका परिकार, मनोरञ्जनात्मक खेलकुदका कार्यक्रम, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शन लगायत कार्यक्रम हुनेछन् ।

महोत्सव उद्घाटनअघि जनजातिको सांस्कृतिक कार्यक्रम, विभिन्न जिल्लाका कला, संस्कृति, भेषभूषा र हस्तकलाका सामग्रीको प्रदर्शन, लोकदोहोरी गीत प्रतियोगिता, ख्यातिप्राप्त पप व्याण्डको प्रस्तुति, बाल उद्यान, विभिन्न पिङ, जादुगर लगायत रहेको  आयोजक रेवान सचिव एवं महोत्सव प्रचार संयोजक गणेश थापाले बताए ।

उद्घाटन अवसरमा गुरुङ छयाँडू, नाच, तामाङ, सेलु, मगर, कौडानाच, जनकपुरको मैथली नाच, आमा समूहबाट भजनकीर्तन तथा तीजगीत, थारु नाच, स्टिक नाच, ढिकी जाँतो, गुन्द्री बुन्ने तथा नेपाली हस्तकलाको प्रदर्शनी लगायत प्रस्तुति गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्