
काठमाडौं–काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा चाईनिज पेस्तोल देखाई लुटपाट गर्दै गरेको अवस्थामा ३ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं कंलकी बस्ने धादिङ गल्छिका ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, २५ वर्षीय केदारप्रसाद अधिकारी र काठमाडौं चावहिल बस्ने काभ्रे भुम्जु गाउँपालिका-८ का ३० बर्षीय अन्जन उप्रेती रहेका छन् ।
श्रेष्ठको घरमा अपरिचित व्यक्तिहरू प्रवेश गरेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले चाईनिज पेस्तोल १ थान, गोली १ राउण्ड, खुकुरी १ थान सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यसैबीच पुथाउत्तरगंगा गाउँपालिका-१२ घर भई भूमे गाउँपालिका-२ काक्री बस्ने १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सिस्ने गाउँपालिका-६ छिप्रीदह बस्ने २२ वर्षीय लक्ष्मण विकलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय काक्री रूकुमबाट खटिएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।