
जनकपुरधाम – सुनसरीको इनरुवामा शनिवारदेखि आयोजना हुने मनमोहन क्रिकेट प्रतियोगितामा सहभागी हुने क्रिकेट टोलीलाई सामाजिक विकासमन्त्री नबलकिशोर साहले सम्मान गर्दै बिदाइ गरेको छ ।
प्रदेश नम्बर १ मा हुने १ दिवसीय क्रिकेट प्रतियोगितामा सहभागी हुने प्रदेश नम्बर २ का क्रिकेट टोलीलाई मन्त्री साहले सम्मान गर्दै बिदाइ गरेका छन् ।
शुक्रवार मन्त्री साहको निवासमा आयोजना गरिएको बिदाइ कार्यक्रममा सर्लाहीका प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साह, राजपाका केन्द्रीय सदस्य राजु चौधरी, सञ्जय चौधरी, युवा नेता रोशन सिंह, रुपेश सिंह, जनकपुरका राजपाका जिल्ला स्तरीय नेता सञ्जय सिंह लगायतका उपस्थिति थियो ।
मन्त्री साहले क्रिकेट टोलीका सबै सदस्यलाई फूल माला लगाएर टिका लगाएर खादा ओढाएका थिए । मन्त्री साहले टोलीलाई शुभकामना व्यक्त गर्दै उपाधि जितेर आउन कामना गरेका थिए ।
मेहबुब आलमको कप्तानीमा १६ सदस्यीय टोली शुक्रवारै इनर्वाका लागि प्रस्थान गरेका छन् । प्रदेशको टोलीमा कप्तान मेहबुब आलम (सप्तरी), सन्जम रेग्मी (बारा), हासिम अन्सारी (पर्सा), सुरज पटेल (पर्सा), रासिद खान (पर्सा), सुरज कुर्मी (पर्सा), हरिशंकर साह (धनुषा), दिव्यान्शु मल्लिक (धनुषा), विशाल सुश्लिंग (धनुषा), राहुलप्रताप सिंह (महोत्तरी), विवेक यादव (सप्तरी), आँशु कदोई (रौतहट), सुनिल मिश्र (रौतहट) र संसाद सेख (सर्लाही) रहेका छन् ।
प्रशिक्षक प्रकाश शर्माले भने, ‘हाम्रो टोली अत्यन्तै सन्तुलित छ, टचमा पनि भएकाले उपाधि नै जित्ने छौं ।’ अग्रजदेखि युवा खेलाडी समेतको संयोजन हुनुका साथै ईपीएल, डीपीएल लगायतका प्रतियोगिता खेलिरहेका हासिम अन्सारी, हरिशंकर साह, रासिद खान, संसाद सेख लगायतका टोली रहेकाले जित्न सजिलो हुने टोलीका अग्रज खेलाडी सन्जम रेग्मीले बताए ।
टोलीका टीम व्यवस्थापक शोभाकान्त पाण्डेले भने, ‘यस पटक प्रदेशको टीम चयन धेरै राम्रो भएको, सबै खेलाडी अभ्यासमा रहेकोले उपाधि जित्नकै लागि हामीले खेल्ने छौं ।’
कतिपय खेलाडीले १ दिवसीय खेल समेत खेलिसकेका कारण पनि जितिने प्रशिक्षक शर्माले बताए । प्रतियोगितामा ७ वटै प्रदेशको प्रदेशस्तरीय टोली, विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीका साथै एउटा स्थानीय टीम र भारत बिहारको सुपौलका टीम गरी १२ वटा टीम सहभागी हुनेछन् ।
भोलि २१ गते २ नम्बर प्रदेशको पहिलो खेल नेपाल प्रहरीसँग हुने जनाइएको छ ।