२८ जेठ २०८३, बिहीबार

‘घरदैलो सेवा’ अभियानमा दुई हजारले सेवा लिए

‘घरदैलो सेवा’ अभियानमा दुई हजारले सेवा लिए

काभ्रेपलाञ्चोक- तेमाल गाउँपालिका–७ नं वडा कार्यालयले सञ्चालन गरेको ‘घरदैलो सेवा’ अभियानमा करीब दुई हजार स्थानीयवासीले सेवा लिएका छन् । अभियानमा वडा कार्यालयबाट दिने सेवासुविधा स्थानीयवासीको घरदैलोमै गएर दिइएको वडाध्यक्ष ज्ञानबहादुर मोक्तानले बताउनुभयो । चारदिने अभियानको गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले सोमबार कालधारमा उद्घाटन गर्नुभएको थियो । 

अभियानअन्तर्गत मङ्गलबार कुरुबास, बुधबार चापाखोरी, जरदेउ र पाण्डे गैरामा सेवा दिइएको र बिहीबार दुल्खुमा सेवा प्रदान गरी समापन गरिएको वडाध्यक्ष मोक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानमा स्थानीय जनप्रतिनिधि, शिक्षा, स्वास्थ्य, कृषि भेटेरीनरी तथा आवास पुनःनिर्माणका प्राविधिक स्थानीयवासीको घरदैलोमै गएर सेवा दिइएको थियो । 

अभियानअन्तर्गत ९२५ को स्वास्थ्य परीक्षण तथा औषधि वितरण, ६२३ ले पशुसेवा, ३३५ ले विभिन्न बाली तथा माटो परीक्षण, २९ लाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण, ३७ को जन्मदर्ता, नौ विवाह दर्ता तथा ११ जनाको मृत्यु दर्ता गरिएको वडाध्यक्ष मोक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार करीब रु ५० हजार मालपोत कर सङ्कलन भएको छ । 

अभियानमा पञ्जीकरण सिफारिश, मालपोत कर सङ्कलन, आवास पुनःनिर्माण अनुगमन तथा गुनासो सनुवाइ, स्वास्थ्य परीक्षण तथा औषधि वितरण, कृषि प्राविधिकद्वारा माटो परीक्षण, पशुस्वास्थ्य परीक्षण तथा औषधि वितरण, विद्यार्थी भर्ना तथा कक्षा सञ्चालनको अवस्था अनुगमन, सामाजिक सुरक्षा भत्ता वितरण तथा पाउनयोग्य व्यक्तिको नामावली सङ्कलन, व्यवसायी दर्ता प्रमाणपत्र वितरणका सेवा प्रदान गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्