काठमाडौं — अपि पावर कम्पनी लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा मंगलवार सम्पन्न गरेको छ ।
कम्पनीले आ.व. २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर (कर बाहेक) दिने प्रस्ताव साधारणसभाबाट पास गरेको छ ।
५ प्रतिशत बोनस शेयर निष्काशनपश्चात् कम्पनीको चुक्ता पूँजी रु.११९.०७ करोड पुग्ने कम्पनीले जनाएको छ ।
कम्पनीले निर्माण सम्पन्न गरेको ८.५ मे.वा. क्षमताको नौगड गाढ जलविद्युत आयोजना विगत ३ वर्ष देखी नाफामा संचालन भईरहेको र कम्पनीले निर्माण गरिरहेको ८ मे.वा. क्षमताको अप्पर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको पनि कम्पनीले जनाएको छ ।
साथै कम्पनीले प्रबद्र्धन तथा विकाश गरेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौताको मस्यौदामा हस्ताक्षर गरेको पनि कम्पनीले जनाएको छ ।
कम्पनीले विकाश गरेको १८ मे.वा. आयोजनामध्ये १४ मे.वा. क्षमताका ४ वटा सोलार आयोजनाहरूको विद्युत खरिद विक्री सम्झौता सम्पन्न गरिसकेको छ र सोलार आयोजना निर्माणको लागी भारतको जेनरल इलेक्ट्रिक कम्पनीसँग
सोलार प्यानलहरू, इनभर्टर तथा अन्य आवश्य सामानहरू खरिद गर्ने सम्झौता पनि सम्पन्न भइसकेको कम्पनीले जनाएके छ ।
कम्पनीले १ः२ बराबरको हकप्रद शेयर जारी गरी शोलार आयोजनाहरू, माथिल्लो चमेलिया जलविद्युत आयोजना तथा सिद्धकाली पावर लि.ले निर्माण गर्ने त्रिशुली गल्छी जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ ।
साधारणसभाले नियमन निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) सँग १ः२ को अनुपातमा हकप्रद शेयर निश्कासनको अनुमति छिटोभन्दा छिटो दिन आग्रह गरेको छ ।