२८ जेठ २०८३, बिहीबार

शान्ता, जसले आफ्नो कलेजोको टुक्रा काटेर डाक्टरलाई बचाइन्

कात्तिक २०, २०७४
शान्ता, जसले आफ्नो कलेजोको टुक्रा काटेर डाक्टरलाई बचाइन्

काठमाडौं, २५ फागुन — पाँच वर्षअघि काठमाडौं कपन नारायण चोककी शान्ता दाहालको घरमा उनका मामा सर्जन डाक्टर गोविन्द शर्माको फोन आयो । मंसिरको साँझमा आएको उक्त फोन शान्ताका श्रीमान् पुरुषोत्तम दाहालले उठाएछन् ।
‘खै मरिन्छ कि क्या हो, कसैले सहयोग गर्लान् जस्तो छैन ।’

शर्माले दाहाललाई सारमा यत्ति भनेका थिए । शान्ता घरको माथिल्लो तल्लामा आराम गरिरहेकी थिइन् । दाहालले शायदै सोचेका थिए शर्मालाई आफ्नै घरबाट सहयोग पुग्छ ।

माथिल्लो तल्लामा रहेकी शान्ताले आफ्ना श्रीमान् र मामाको बीचमा भएको कुराकानी सुनेकी थिइन् । दाहालको घरमा शर्माको फोन जीवनयाचना लिएर नै छिरेको थियो ।

श्रीमानले मामासँग कुराकानी गरेर सके । त्यसपछि चाहिँ उनी आफ्नै काममा लागे । माथिल्लो तल्लाबाट शान्ता तल झरिन् । अनि मामालाई फोन लगाइन् ।

खै के सोचेर उनले भनिन्, ‘मामा, अरूले सहयोग नगरेपनि मैले सहयोग गरिहाल्छु नि, चिन्ता लिनुपर्दैन ।’
यता मामा र श्रीमतीबीचको कुराकानी पुरुषोत्तमले सुनेका रहेछन् । त्यसपछि चाहिँ दाहाल परिवारमा गहिरो सन्नाटा छायो ।

डा. शर्मा यो देशका कहलिएका डाक्टरहरूकै सूचीमा थिए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति समेत भइसकेका शर्माको अत्यधिक मदिरा र चुरोट सेवनका कारण कलेजोमा क्यान्सर देखिएको थियो । क्यान्सरले कलेजो ध्वस्त पारेपछि शर्माले कोही आफन्तहरूले कलेजो दान दिन्छन् कि भनेर याचना गरिरहेका थिए ।

शुरुशुरुमा शर्माका अरू आफन्तले कलेजो दिन्छु भनेका पनि हुन् । तर दिनु नै पर्ने भएपछि भने उनीहरू अनेक बहाना बनाएर तर्किए । शर्मा आफ्नो पीडा सुनाउन एक गरीब पत्रकारको घरमा छिरे ।

शान्ताका मामा डाक्टर गोविन्द शर्मा

सामान्य अवस्थामा शर्माले बिरलै सम्झन्थे दाहाल परिवारलाई । आफूलाई दुःख परेपछि भने सम्झे । अकस्मात् शान्ताले आफ्नो कलेजो काटेर मामालाई सहयोग गर्ने निर्णय गरिन् । त्यो पनि घरपरिवार कसैसँग सल्लाह नै नगरी ।

‘त्यसपछि मामाले सबैलाई भान्जीले कलेजो दिने भइन् भनेर खुशी व्यक्त गर्नुभएछ,’ शान्ताले पाँच वर्षअघिको घटना सम्झँदै लोकान्तरसँग भनिन्, ‘मामालाई कलेजो दिन तयार हुँदा घरपरिवार कोही पनि तयार हुनुभएन ।’

कलेजो नै काटेर दिने भनेपछि शान्तालाई घरपरिवारले त्यसो नगर्न सम्झाएका थिए । बिरामी मान्छे किन कलेजो दिनुप–यो र भन्ने उनीहरूको तर्क थियो । तर उनले आफूले कलेजो दिने निर्णय फिर्ता गरिनन् ।
‘श्रीमानले त केही भन्नुभएन तर छोराछोरीलाई भनेर एकपटक सोच्न लगाउनुभयो,’ उनी भन्छिन्, ‘तर मैले मामालाई कलेजो दिने निर्णय गरें ।’

शान्ताका श्रीमान् पुरुषोत्तमले शान्ताले आफ्ना मामालाई कलेजो दिएपछि सोही घटनामा आधारित रहेर लेखेको उपन्यास ‘शान्ता’मा भनेका छन्, ‘यो उनको अधिकार थियो त्यसैले म आफूले केही नभन्ने निर्णय गरें, तर छोराछोरीलाई चाहिँ एकपटक भन्न पठाउँछु ।’

शान्ताले पाँच वर्षअघि भारतको मेदान्त अस्पतालमा आफ्ना मामा शर्मालाई आफ्नो कलेजोको आधा टुक्रा काटेर दिएकी थिइन् । घरपरिवार, डाक्टरहरू लगायतले उनको उक्त निर्णयमा धेरैपटक सोच्न अनुरोध गरेका थिए ।
‘तेईस घण्टा लामो अप्रेसन गरेर मैले मामालाई कलेजो दिएको थिएँ,’ उनी ती दिनहरू सम्झँदै भन्छिन्, ‘मेरो होश तीन दिनमा आयो, मामाको होश भने चार दिनमा आयो ।’

कसैले खुशीले दियो भने बेग्लै कुरा, नत्र कोही मान्छे मरेको अवस्थामा मात्रै परिवारको स्वीकृतिमा कलेजो स्थानान्तरण गर्न सकिन्छ । भारतमा कसैले पैसाले बेचेर केलेजो दिएमा एक करोडसम्ममा शर्माले कलेजो पाउनसक्ने अवस्था रहन्थ्यो ।

तर शान्ताले मामासँगै गएर भारतको मेदान्त अस्पतालमा कलेजो दिने निर्णय गरिन् । दिने मान्छेको ज्यान जोखिममा नपर्ने सुनेकी उनले आफूलाई केही हुँदैन भन्ने विश्वास लिएकी थिइन् । तर उनीहरू अस्पतालमा हुँदा नै दिने मान्छेको समेत निधन भएको उनले देखिन् ।

‘८४ वटा टाँका लगाएको छ, लामो समयसम्म त मलाई खुब दुःख भयो,’ उनले भनिन्, ‘तर कलेजो दिएर व्यर्थैको दुःख पाएँछु जस्तो चाहिँ कहिल्यै पनि लागेन ।’

कलेजो दिने निर्णय गरेर मात्रै नहुँदो रहेछ । भारतमा गएर कलेजो स्थानान्तरण गर्न खुब गाह्रो । शारीरिक दुःख त थियो, नै कागज पत्र मिलाउन पनि साह्रै गाह्रो । कलेजो लिनेको, दिनेको अनि सम्बन्धित देशको राजदूतावासको अनुमतिपत्र सबै चाहिने रहेछ ।

तर संयोगले शान्ताका श्रीमान् देशका वरिष्ठ पत्रकार परे । उनले राजदूतावासबाट काम नबन्ने देखेपछि नेपालको राजनीतिक नेतृत्वमा कुरा पु–याएर कागजपत्र मिलाए ।

‘त्यसबेला बाबुराम भट्टराई प्रधानमन्त्री हुनहुन्थ्यो,’ उनले भनिन्, ‘श्रीमानले बाबुराम भट्टराईलाई दूतावासमा भन्न लगाउनुभयो, अनि बल्ल कागजपत्र सल्टिएको थियो ।’

शान्ताका अनुसार त्यसबेला भट्टराईले भारतस्थित नेपाली दूतावासमा कार्यरत कर्मचारीहरूलाई पुरुषोत्तम दाहाल एउटा व्यक्ति मात्र नभई राष्ट्र नै भएकोले कागजपत्रमा नअल्मल्याउन अनुरोध गरेका थिए ।

यत्ति भएपछि कागज त बन्यो, तर एक महिनासम्मको शारीरिक दुःख कम सकसपूर्ण थिएन । ‘एक महिनासम्म रगत झिक्ने, परीक्षण गर्ने मात्रै काम हुँदो रहेछ,’ उनले हाँस्दै भनिन्, ‘धेरै रगत तानेको भएर होला एक दिन त रगत नै आएन ।’

साह्रै कष्टपूर्ण अवस्थामा मामालाई कलेजो दान गरेकी उनलाई अहिले चाहिँ निकै खुशी लाग्छ । ‘अहिले मामाले मलाई तिमी त मेरो आमा हौ भन्नुहुन्छ,’ उनी भन्छिन्, ‘मामाले दोस्रो जन्म पाएको अनुभव गर्नुभएको छ ।’

शान्ताले ४५ वर्षको उमेरमा ६० वर्ष काटेका आफ्ना मामालाई कलेजो दान गरेकी थिइन् । ‘उक्त अप्रेसनपछि डाक्टरले मामाको आयु तीनवर्ष मात्रै तोकेको थियो,’ उनले भनिन्, ‘तर अहिले पाँच वर्ष बितिसक्दा पनि मामा ठीकै हुनुहुन्छ, भलै अहिले चाहिँ अलि कमजोर भएको महसूस गर्नुभएको छ ।’

कलेजो दान दिने व्यक्तिले लाखौं रुपैयाँ लिने गरेको दृष्टान्त भएपनि शान्ताले मामासँगबाट एक रुपैयाँ पनि नलिई कलेजो दान गरेकी थिइन् ।

अहिले चाहिँ चिसोको कारणले अप्रेसन गरेको ठाउँमा दुख्ने गरेको उनी सुनाउँछिन् ।

‘हरेक वर्ष परीक्षणको लागि मेदान्त जाने गरेकी छु,’ उनले भनिन, ‘शुरुशुरुमा त साह्रै नै गाह्रो भयो, तर अहिले पहिले जस्तो चाहिँ छैन ।’

शान्तालाई भारतमा २७ जना डाक्टरहरूले एकैठाउँमा जम्मा भएर सोधेका थिए, ‘कलेजो किन दिन चाहन्छौ ? आफ्नो परिवारको माया लाग्दैन ?’

तर शान्ताले आफूलाई केही नहुने कुरामा डाक्टरलाई ढुक्क हुन अनुरोध गरेकी थिइन् । ‘मेरो मामाले कति धेरैको ज्यान बचाउनुभएको छ, त्यसैले म पनि उहाँलाई बचाउन चाहन्छु,’ शान्ताले त्यसबेला डाक्टरलाई भनेकी थिइन्, ‘उहाँले फेरि पनि कसैलाई बचाउनुहुन्छ नि ।’

यो सुनेपछि डाक्टरहरूले एकमुख लगाएर ‘यु आर अ ग्रेट लेडी’ (तपाईं महान् महिला हुनुहुन्छ) भनेका थिए ।
बर्दिया माइती भएकी शान्ताले ओखलढुंगाका सामान्य परिवारका पत्रकार पुरुषोत्तमसँग विवाह गरेकी हुन् । उनका अनुसार सामान्य परिवारका आफूहरू र हुने खाने परिवारका मामाका बीचमा कलेजो दान गर्नुपूर्व खासै आउजाउ पनि थिएन ।

‘हामी सडकछाप जस्तै थियौं, उहाँहरू सम्पन्न हुनुहुन्थ्यो,’ उनले ती पुराना दिन सम्झँदै भनिन्, ‘गरीबको गरीबसँगै संगत हुने, धनीको धनीसँगै ।’

खै, कताबाट आँट आयो कुन्नि, शान्ताले मामाका लागि कलेजो दान दिइन् । ‘मैले मामाको ज्यान बचाएँ, त्यसैमा सन्तुष्ट छु,’ उनी भन्छिन्, ‘मेरा श्रीमान् त तिमीले केही दानपुण्य गर्नुपर्दैन, अहिले नै तिमी देवी हौ भन्नुहुन्छ ।’
पहिला दुःख पाएको भएपनि अहिले चाहिँ शान्ताको अवस्था सामान्य छ । अप्रेसन गरेको ठाउँमा दुखेपनि आफू लगभग सामान्य भएको उनले बताइन् । ‘चिसोमा यसो चरक्क दुख्छ, नत्र सबै ठीकै छ,’ उनी भन्छिन् ।
(अर्काइभबाट)

salt training

कमेन्ट गर्नुहोस्