
बुटवल– रुपन्देहीमा शनिबार राति प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ । राति करिब १२ बजेको समयमा तस्कर र प्रहरीबीच सिद्धार्थनगर नगरपालिका–१० शंकरपुरमा दोहोरो फायरिङ् हुँदा ती युवकको मृत्यु भएको हो ।
प्रहरीको गोली लागेर अन्दाजी ३० वर्षका युवकको मृत्यु भएको रूपन्देहीका प्रहरी प्रमुख ह्दय थापाले लोकान्तरलाई जानकारी दिए । ‘रुपन्देहीका विभिन्न क्षेत्रमा तस्कारी बढको छ’ थापाले भने, ‘त्यसको नियन्त्रणका लागि प्रहरी गस्तीमा थियो ।
‘एकजना युवा भारतीय मोटरसाइकलमा आयो । उसलाई मोटरसाइकल रोक भन्दा मानेन र प्रहरीमाथि फायरिङ गर्दै भाग्न खोज्यो ।’ उनले भने, ‘प्रहरीले जवाफी फायरिङ गर्दा युवक घाइते भएका थिए । उनले उपचारको लागि भीम अस्पताल पु¥याउँदा राति १ बजेर १० मिनेटमा मृत्यु भएको हो ।’
मृत्यु हुने युवक तराई मूलका देखिन्छन् । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलमाथि फायरिङ गरेपछि प्रहरी गोली चलाएको बताए । उनीहरू चढेको युपि ५३ एच २०२८ नम्बरमा मोटसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रजिअ रानाले लोकान्तरलाई जानकारी दिए ।
मृत्यु हुने युवकको पहिचान खुल्न नसकेको थापाले बताए । प्रहरीमाथि फायरिङ गर्ने दुई जना रहेको प्रहरीको भनाइ छ । मोटरसाइकलको पछाडि बस्ने व्यक्ति भागेको प्रहरीले जनाएको छ । तस्करको गोली लागेर जिल्ला प्रहरी कार्यालय रूपन्देहीका जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको छ ।
गुण्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले पनि एक वर्ष अगाडि प्रहरीसँगको दोहोर झडपमा रूपन्देहीको देवदहमा मारिएका थिए । पछिल्लो समय रूपन्देहीमा तस्करी बढेको भन्दै प्रहरीले गस्ती तीब्र बनाएको छ ।
एक वर्ष अगाडि पनि सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष कूलप्रसाद न्यौपानेलाई लक्षित गरी गोली प्रहार भएको थियो । पत्रिका पढेर बसेका उनलाई दायाँ पाखुरामा गोली लागेको थियो । रूपन्देहीमा पछिल्ला वर्षमा अपराधिक घटनाहरू बढदै गएका छन् ।