
सुर्खेत– कर्णालीको राजधानी सुर्खेत जिल्लाका निमित्त प्रमुख प्रहरीको मनोमानी बढ्दै गएको छ । तीन किलो भन्दाबढी सुन प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रदिपबहादुर बुढा क्षेत्रीले आफैंले पठाएको विज्ञप्ति पनि याद गर्न सकेनन् ।
जिल्ला प्रहरी कार्यालय यति कठोर बनेको छ कि उसले अहिले वन ऐन समेत टेर्न छोडेको छ । वीरेन्द्रनगर निवासी रमेश सिंहले बिहीवार जिल्ला प्रहरी कार्यालयमा सहायताका लागि एक सय नम्बरमा फोन गरे । उनले आफू श्रीमतीबाट पीडित भएको भन्दै साँझ उजुरी दिए पनि प्रहरी पुगे।
मलाई प्रहरीले अहिलेसम्म दुई पटक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिसक्यो । उनले भने, ‘मेरो श्रीमतीले भनेको दश मिनेटमा प्रहरी आयो । मैले भनेको दुई दिनसम्म पनि प्रहरी आएन ।’ सिंहको त यो प्रतिनिधिमुलक एक घटना हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख क्षत्रीले माघ ४ गते राति बहुमुल्य पत्थरसहित केही व्यक्तिलाई समातेको इमेल मार्फत पत्रकारलाई जानकारी दियो । उसको विज्ञप्ति अनुसार राति एक बजेको समयमा स्कार्पियो गाडीमा वीनपा १ बाङ्गेसिमल चेक प्वाइन्ट नजिकबाट पाँच जनालाई समातेको जानकारी दियो ।
प्रहरीको विज्ञप्ति अनुसार कालिकोटबाट सुर्खेत तर्फ आउँदै गरेको बा १९ च ३५७२ न.को स्कारपियो गाडी चेक जाँच गर्दा उक्त गाडीमा लुकाई ल्याएको भन्ने सूचनाको आधारमा प्र.स.नि.बिजय पुनको कमाण्डमा ६ जनाको टोली खटि गई बहुमूल्य ढुङ्गा ११.५०० किलो ग्राम परिमाणमा बरामद गरिएको उल्लेख छ ।
उक्त ढुङ्गा ल्याउँदै गरेका निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई पक्राउ गरी गाडीसहित नियन्त्रणमा लिएको अनुसन्धान कार्य जारीरहेको जिल्ला प्रहरीको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले जनाए बमोजिम वीननपा ४ बस्ने बर्ष ४० का भीमबहादुर सुनार, ३० वर्षका नबिन कंडेल, २८ वर्षका सुरेन्द्र शाही, बराहताल ८ का भक्तबहादुर पाण्डे र तेजेन्द्र बस्नेतलाई साढे एघार किलो बहुमुल्य ढुंगासहित समातेको जानकारी दिएको थियो ।
तर जिल्ला प्रहरी कार्यालयका प्रमुख क्षेत्रीले नियन्त्रणमा लिए पनि वन ऐन २०४९ अनुसार अघि बढ्नुको साटो उनी आफ्नै ढंगमा अघि बढ्न खोजेका छन् । उनले तीन किलो सुन पक्रँदा कुनै जवाफदेहिता दिनु परेन । वन ऐन अनुसार जिल्ला प्रहरी कार्यालयले वनसँग सम्बन्धित व्यक्तिलाई पक्राउ गरेको चौबीस घण्टामा डिभिजन वन कार्यालय सुर्खेतमा बुझाउनै पर्ने प्रावधान भएको डिभिजन प्रमुख भक्तबहादुर लामाले बताए ।
‘प्रहरीले वनजन्य बस्तु नियन्त्रण गरेको हो भने हामीलाई चौबीस घण्टाभित्र बुझाउनु पर्छ ।’ उनले भने, ‘प्रहरीले होइन त्यो हामीले अनुसन्धान गर्नुपर्ने हो।’ उता जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख क्षेत्रीले आफूले विज्ञप्ति जारी गरेको बारे अनभिज्ञता जनाए । उनले भने, ‘म अहिले गस्तीमा छु । के पठाएको हो जानकारी छैन।’