०३ असार २०८३, बुधबार

सभामुखको भूमिकाप्रति प्रतिपक्षको आरोप – सत्ताको गोटी बन्न खोज्नुभयो कि !

सत्तारुढ नेकपा भन्छ – अल्पमतले सदनलाई बन्धक बनाउन खोज्यो
माघ ९, २०७५
सभामुखको भूमिकाप्रति प्रतिपक्षको आरोप – सत्ताको गोटी बन्न खोज्नुभयो कि !

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महराले संसदीय मूल्य मान्यतालाई कुल्चेर सदन चलाउन खोजेको आरोप लगाएको छ ।

सदनमा प्रमुख प्रतिपक्षी दलका सांसद उठेको समयमा व्यवस्थापकीय काम अगाडि बढाउन बलजफ्ती गर्नु सत्तापक्षको गोटी हुन खोजेको ठहर्ने कांग्रेसको दलिल छ । 

मंगलवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरोध गरेको समयमा सभामुख महराले चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन खोजेपछि सदनमा घम्साघम्सी भएको थियो । सभामुखको आदेशपछि रोस्टमतर्फ जाँदै गरेका शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई रोक्ने क्रममा मर्यादापालकले कांग्रेस सांसदमाथि दुर्व्यवहार गरेको कांग्रेसको आरोप छ । 

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सभामुखले प्रमुख प्रतिपक्षी दल सदनमा उभिएको समयमा जबर्जस्ती विधेयक पारित गर्न खोज्दा सभामुखको तटस्थतामा प्रश्न उठ्ने दावी गरिन् ।

‘प्रमुख प्रतिपक्षी दल खडा भएपछि सदन चल्दैन, सभामुख हाउसको नेता भएकोले प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिएर हाउस अगाडि बढाउनुपर्छ । प्रमुख प्रतिपक्षी दल उठिसकेपछि सदन अगाडि बढाउने नजिर बसाल्नु हुँदैन,’ भुसालले लोकान्तरसँग भनिन् । 

कांग्रेसले आफूहरू सदनको बेलमा उभिएको समयमा सत्तारुढ दलका सांसद आएर घुसपैठ गर्न खोजेको आरोप लगाएको छ । ‘सभामुखको सुरक्षा गर्नुपर्ने मर्यादापालकले जुन ढंगबाट प्रमुख प्रतिपक्षी दलका सांसदहरूमाथि धकेल्ने काम गरे यसको जिम्मा सभामुखले लिनुपर्छ भनेर भनेका छौं,’ भुसालले भनिन्, ‘प्रमुख प्रतिपक्षी दलका सांसद बेलमा उभिएको समयमा सत्तापक्षका सांसद आउन मिल्ने÷नमिल्ने कुरा पनि सभामुखले व्यवस्थापन गर्नुपर्छ ।’

मंगलवार मन्त्रीलाई रोस्टममा जान प्रतिपक्षी दलले अवरोध सिर्जना गरेपछि नेकपाका प्रमुख सचेतक देव गुरुङ सहितका सांसद बेलमा पुगेका थिए । विगतमा साना दलका ४ जना सांसदले विरोध गर्दा सदनको बैठक अवरुद्ध हुने गरेपछि सभामुखले पेल्न खोजेको कांग्रेसको आरोप छ । 

यसअघि गत पुस २२ गते संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि आफूहरूलाई प्रश्न गर्नबाट वञ्चित गरेर सभामुखले हुुकुमै शैली देखाउन खोजेको कांग्रेसले आरोप लगाएको थियो । 

संसदीय सर्वोच्चताबारे प्रधानमन्त्रीको दोहोरो चरित्र

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय सर्वोच्चताबारे दोहोरो मापदण्ड अख्तियार गर्न खोजेको समेत आरोप लगाएको छ । नेपाल वायु सेवा निमगको विमान खरिद प्रकरणमा भएको अनियमिताबारे संसदीय समितिको निष्कर्षलाई मान्दिनौ भन्नु तर डा. गोविन्द केसीको मागबारे प्रतिपक्षले कुरा उठाउँदा सदनलाई निर्देशन गर्न सक्दिनँ भन्नु प्रधानमन्त्रीको दोहोरो चरित्र भएको भुसाल दावी गर्छिन् । 

‘डा केसीसँग भएको सहमति कार्यान्वयन गछौं भनेर सरकारले भनेको कुरा संसदको रेकर्डमा छ, अहिले आएर प्रमले संसदलाई निर्देशन दिन सक्दैनौं,’ उनले भनिन्, ‘सदनमा आफूहरूको बहुमत छ भनेर त्यसो भनिएको हो । विगतमा गरेका सहमतिबाट पन्छिने कुरा हो ।’

अल्पमतले दुईतिहाइलाई बन्दक बनाउन मिल्छ ? 

सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीले अल्पमतले बहुमतलाई बन्धक बनाउन खोजेको आरोप लगाइन् । ‘संसदको मर्यादामा प्रतिपक्ष पनि बस्नुपर्छ, प्रतिपक्षले जे गरेपनि छुट भन्ने हुँदैन,’ चौधरीले लोकान्तरसँग भनिन्, ‘सत्तापक्षले मन्त्रीलाई घेराबन्दी गरेपछि सत्तापक्षका सांसदहरू सुरक्षाका लागि जानु भएको हो ।’

संसदीय सर्वोच्चताको वकालत गर्ने कांग्रेसले सदनलाई बन्धक बनाउन खोजेको चौधरीको आरोप छ । ‘दुईतिहाइ सरकारले केही गरेन भनेर भाषणैपिच्छे आलोचना गर्ने, काम गर्न खोज्दा रोक्न मिल्छ ?’ उनको प्रश्न छ ।

सभामुखसँग सत्तारुढ सांसदको पनि गुनासो !

मंगलवार चिकित्सा शिक्षा विधेयक पारित गर्ने संसदको कार्यसूची थियो । सोमवार पनि संसदको कार्यसूचीमा विधेयक पारित गर्ने कार्यक्रम थियो । सोमवार कांग्रेसले संसदको बैठक अवरुद्ध गरेपछि मंगलवारका लागि बैठक बोलाइएको थियो । 

‘मंगलवार विधेयक पारित गर्ने तयारी थियो, सभामुखले किन बैठक स्थगित गर्दा हामी चकित पर्यौं,’ नेकपाका एक प्रभावशाली सांसदले भने, ‘सदन स्थगित गर्नु नै थियो भने त्यो महाभारत किन देखाउनु पर्दथ्यो ?’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण मंगलवार संसदका दुईवटा बैठक स्थगित भएका थिए । मंगलवारकै लागि बस्ने भनिएको तेस्रो बैठक सूचना टाँसेर शुक्रवार सम्मको लागि स्थगित गरिएको छ । 

पढ्नुस् यो पनि - 

संसदमा कांग्रेसको अवरोध : बहाना एउटा, चालबाजी अर्कै !

प्रधानमन्त्रीलाई प्रश्न सोध्नबाट प्रतिपक्षलाई वञ्चित गर्दा चुकेकै हुन् त सभामुख महरा ?

salt training

कमेन्ट गर्नुहोस्