
पोखरा – सडक किनारमा अन्धाधुन्ध मासु पोलेर सर्वसाधारणको स्वास्थ्यमा हानी गर्नेमाथि सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको पहलमा अनुगमन थालिएको छ ।
पोखरा महानगरपालिकाको ६ नम्बर वडा कार्यालय र वडा प्रहरी कार्यालय बैदामको समन्वयमा फेवाताल किनार हल्लन चोकदेखि फेवाताल स्वीमिङ पुल घाटसम्म सडक छेउमा मासु पोल्ने व्यवसायीमाथि अनुगमन गरिएको छ ।
मासु पोल्ने र धूँवाको मुस्लो फ्याकी सर्वसाधारणको जनस्वास्थ्यमा हानी पारेको भन्दै सामुदायिक बैदामले यस्ता कार्यमाथि रोक लगाएको सामुदायिक बैदाम अध्यक्ष मीना भट्टराईले जानकारी दिइन् ।
अनुगमनमा पोखरा–६ का वडाध्यक्ष जगतबहादुर पहारी, वडा प्रहरी कार्यालय बैदामका डीएसपी नवीन कार्की लगायत वडा सदस्य एवं विभिन्न आमा समूहको प्रतिनिधित्व थियो ।
सामुदायिक बैदाम सदस्य ठाकुर बरालका अनुसार हल्लन चोकदेखि फेवाताल स्वीमिङ पुल घाटसम्म करीब १२ र फेवाताल छेउका ८ गरी करीब २० त्यस्ता पसलमा अनुगमन गरी सो कार्यमा रोक लगाइएको हो ।
फेवाताल किनारका सम्पूर्ण फूटपाथमा राखिएका साना व्यवसायीलाई समेत हटाइएको छ । सामुदायिक बैदामले आगामी दिनमा नियमित अनुगमन गर्दै जाने सचिव नेत्र भण्डारीले बताए ।