
काठमाडौंँ–युवा तथा किशोर–किशोरीमाझ लोकप्रिय बन्दै गएको ‘भर्चुअल’ खेल हो ‘पब्जी’ । यो अनलाइन खेल हो । यो खेलका कारण युवकयुवती आफ्नो दैनिक कामसमेत बिर्सन थालेका छन् ।
आजको गोरखापत्र दैनिक लेख्छ–‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ अर्थात् छोटकरीमा पब्जी भनिने यो खेल अहिले संसारमा धेरै खेलिने अनलाइन खेलमध्ये एक हो ।
समूहमा खेलिने यो खेलको लतका कारण युवापुस्तामा मानसिक समस्या देखिन थालेको चिकित्सक बताउँछन् । पाटन अस्पताल मानसिक रोग विभागका प्रमुख डा रवि शाक्यले यस प्रकारको अनलाइन खेल बढी खेल्दा मानसिक रोग लाग्नसक्ने बताए । यस्ता खेलले उत्पन्न गर्ने रोगलाई ‘इन्टरनेट गेमिङ डिसअर्डर’ भन्ने गरिएको बताउँदै उनले भने, ‘‘यो एक प्रकारको नशा नै हो, रक्सीको नशा वा लागूऔषधको नशा जस्तै यो पनि एक प्रकारको नशा नै हो ।’’
आफूकहाँ पनि इन्टरनेटको खेलबाट उत्पन्न समस्या लिएर विरामी आउने गरेको जानकारी दिँदै उनले यस्ता खेलले शारीरिक र मानसिक दुवै समस्या निम्तिने बबताए ।