२२ असार २०८३, सोमबार

विगतका एकल बहुमतीय सरकार ढंग नपुगेर असफल भए : मन्त्री बस्नेत

विगतका एकल बहुमतीय सरकार ढंग नपुगेर असफल भए : मन्त्री बस्नेत

काठमाण्डौं- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पाँच वर्षे सरकारको कामको अहिल्यै मूल्याङ्कन गर्ने समय भइनसकेको बताएका छन् ।

गणेश हिमाल पर्यटन समाजले बिहीबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री बस्नेतले वर्तमान सरकारले घर निर्माण सम्पन्न भएलगत्तै जिम्मेवारी सम्हालेको र अब इन्टेरियरको काम बाँकी रहेको बताए ।

‘घर बनाएर मात्र हुँदैन’, मन्त्री बस्नेतले भने, ‘इन्टेरियर फिनिसिङको काम बाँकी थियो, त्यो काम करिब सकियो ।’ संविधान जारी भएपछि बनेको सरकारले संक्रमणकाल व्यवस्थापन गर्नुपर्ने भए पनि त्यतिबेलाका दुईवटा सरकार स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा केन्द्रित भएकाले वर्तमान सरकारलाई संक्रमणकाल व्यवस्थापनको समेत जिम्मेवारी आएका कारण देखिने गरी काम नभएको बस्नेतले उल्लेख गरे ।

संक्रमणकालमा गर्नुपर्ने प्रशासनिक पूनर्संरचना, वित्तीय व्यवस्थापन तथा नयाँ संविधानअनुसारका ऐन/कानून निर्माणका कामसमेत वर्तमान सरकारले गर्नुपरेकाले एक वर्षको समय त्यसैमा बितेको उनको भनाइ थियो । फागुन २१ गतेभित्रै ती काम सक्नुपर्ने संवैधानिक सीमा रहेको चर्चा गर्दै मन्त्री बस्नेतले सरकार अब ‘स्मुथ्ली’ विकास निर्माण, आर्थिक समृद्धि र जनताका अपेक्षाअनुसारका काममा केन्द्रित हुने बताए ।

दुईतिहाइको वर्तमान सरकारबाट जनताले उच्च अपेक्षा राख्नुलाई गलत भन्न नहुने स्पष्ट गर्दै मन्त्री बस्नेतले जनअपेक्षाअनुसार काम अघि बढाउन आवश्यक कानून र संरचना निर्माण भइसकेकाले अब तीव्र गतिमा सरकार अघि बढ्ने बताए ।

विगतमा ०१५ र ०४८ सालमा पनि एकल बहुमतको सरकार बनेको स्मरण गर्दै मन्त्री बस्नेतले त्यतिबेला नेतृत्वको चलाउनेको ढंग नपुगेर र राजाको हस्तक्षेपका कारण असफल भएको र अहिलेको सरकारलाई कुनै पनि नाममा असफल हुने छुट नरहेकोबारे आफूहरु सचेत रहेको स्पष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्