२७ जेठ २०८३, बुधबार

पोखरामा ‘स्नेहा’ ठगीको पर्दा खुल्दै, प्रहरीमा पुगे ६ करोडसम्म ठगिएका उजुरी

माघ ११, २०७५
पोखरामा ‘स्नेहा’ ठगीको पर्दा खुल्दै, प्रहरीमा पुगे ६ करोडसम्म ठगिएका उजुरी

पोखरा – धेरै रकम ठगेर फरार भएकी सरिताकुमारी रानालाई जिल्ला प्रहरी कार्यालय कास्कीले काठमाडौंबाट पक्राउ गरेपछि ठगीमा परेका पीडित प्रहरीमा उजुरी दिन थालेका छन् ।

गत आइतवार बाग्लुङको बडीगार्ड गाउँपालिका–८ स्थायी घर भइ पोखरा महानगरपालिका–२६ अर्घौ डेरा गरी बस्ने ४२ वर्षीय ‘स्नेहा’ भनिने सरिताकुमारी रानालाई काठमाडौंबाट पक्राउ परेकी हुन् ।

विभिन्न प्रलोभानमा पारेर रानाले स्थानीयसँग करोडौं रकम ठगेर बेपत्ता भएपछि शुरूमा केही व्यक्तिले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गरेका थिए । तर ठगीका अभियुक्त रानालाई प्रहरीले पक्राउ गरेपछि ‘स्नेहा’ ठगीको पर्दा खुल्दै गएको छ ।

पोखरा प्रहरीले थप अनुसन्धान अगाडि बढाएपछि आफू पनि ठगिएको भन्दै २ दर्जन पीडितले प्रहरीमा उजुरी दिएका छन् । बिहीवारसम्म सरिताबाट ठगिएको भन्दै करीब २ दर्जनले ६ करोड रुपैयाँ दाबी गर्दै उजुरी गरेको प्रहरीले जनाएको छ । 

सरितालाई आफन्त बताउने पूर्णमाया शेरपुन्जा, कमला थापा र शोभा पुन काठमाडौंबाट उजुरी दिन पुगेका हुन् । सरिताले १ करोड १८ लाख रुपैयाँ ठगेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका छन् । आफूलाई ब्यापारी बताउने काठमाडौंका अर्का एक व्यक्ति समेत सरिताले दिएको बैंक अफ काठमाडौंको १५ लाख रुपैयाँको ‘बाउन्स चेक’ बोकेर प्रहरीमा उजुरी गर्न आएका थिए ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाका अनुसार पीडितको उजुरीका आधारमा सरिताले ठगेको रकम बिहीवारसम्म ५ करोड ७४ लाख १२ हजार ५ सय पुगेको छ । रानाले ठगेको ठूला रकममा घरजग्गा कारोबार र ब्याजमा रकम दिएका व्यक्ति छन् ।

कसरी रकम उठाउन सफल भइन् सरिता ?

परिवार बेलायतको राजधानी लण्डनमा रहेको भन्दै उनले पोखराका विभिन्न ठाउँमा बस्ने चिनजानका व्यक्तिलाई घरजग्गा खरिद गर्न र जग्गासँग घर साट्नेजस्ता प्रलोभन देखाउँदै रकम असुलेकी हुन् । उनले घरजग्गा देखाएर रकम लिएपनि शर्त अनुसार घरजग्गा र रकम फिर्ता नगरेपछि पीडितले आफूहरू ठगिएको भन्दै प्रहरीलाई उजुरी गरेका थिए । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रमान गुरुङले रानालाई कास्की प्रहरीको टोलीले ७ माघमा काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको बताए ।

डीएसपी गुरुङका अनुसार रानाको कोही पनि परिवार लण्डनमा छैनन् । उनी पोखरामा फ्ल्याट भाडामा लिएर बसेकी थिइन् । फ्ल्याटमा काम गर्ने व्यक्ति, निजी सवारी र ड्राइभर समेत राखेकी रानामा उच्च महत्त्वाकांक्षा देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

रानाविरुद्ध बैंकिङ कसूर मुद्दामा उच्च अदालत पोखराबाट म्याद थपेर अनुसन्धान अघि बढाएको कास्कीका प्रहरी प्रमुख एसपी रानाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्