
बुटवल – सर्वसुलभ स्वास्थ्य सेवा र शिक्षा पाउनुपर्ने आम नागरिकको नैसर्गीक अधिकार हनन् हुने प्रावधान सहितको स्वास्थ्य शिक्षा विधेयक पारित भएको, भ्रष्टाचार तथा हत्या हिंंसा बढेको भन्दै नेपाल तरुण दलले शनिवार सरकारविरुद्ध बुटवलमा खबरदारीसभा गरेको छ ।
प्रदेश स्तरीय विरोध प्रदर्शन तथा खबरदारी सभामा तरुण युवाको उल्लेख्य सहभागिता थियो ।
बुटवलको राजमार्ग चौराहमा गरिएको विरोध सभामा बोल्ने तरुण नेताले दुईतिहाइको दम्भमा संविधान कुल्चने र कम्युनिस्ट शासन स्थापित गर्ने दाउमा सरकार उद्दत रहेको आरोप लगाए । राज्यबाटै अपराधीलाई संरक्षण गरिँदा हत्या, हिंसा, बलात्कारका घटना बढ्नुका साथै सुशासन कायम गर्न नसकेको टिप्पणी नेताहरूले गरे ।
तरुणका केन्द्रीय र प्रदेशका शीर्ष नेताले अधिनायकवाद र सर्वसत्तावाद चरित्रलाई नसच्याए तरुण युवाले सडकबाटै ओली सरकार ढालिदिने चेतावनी समेत दिए ।
तरुणका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले अन्याय अत्याचारी र भ्रष्टाचारीलाई ठेगान लगाउन चट्टानी शक्ति लिएर तरुण युवाहरू तयारीका साथ सडकमा ओर्लिएको बताए । ‘हामीले राणा र राजा फालेम् । ३० वर्षे पञ्चायत फालेम् । अब अन्तिम पटक कम्युनिस्टसँगको लडाइका लागि तयारीका साथ आउँदै छौं,’ अध्यक्ष बस्नेतले भने । उनले अब कम्युनिस्ट सरकार देशबाटै पत्तासाफ भएर जाने ठोकुवा पनि गरे ।
पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई ४ अर्ब खाने वाइडबडी अधिकारीको संज्ञा दिँदै अध्यक्ष बस्नेतले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालकै डिजाइनमा ३८ क्वीन्टल सुन गायब पारिएको आरोप लगाए । ५ प्रदेश सरकारमा पनि गाडी खरिदमा करोडौं भ्रष्टाचार भएको कुरा बाहिर आएकाले छानबिन गरी दोषीलाई कडा कारबाही नगरे ती गाडी तरुणले खोसेर फिर्ता ल्याउने चेतावनी दिए ।
कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले सरकार माफियाको चंगुलमा फसिसकेको र सदनलाई समेत त्यही बाटोमा डोर्याउने खेल चलिरहेकाले कांग्रेसले त्यसविरुद्ध कडा संघर्ष गर्नुपर्ने बताए । तरुण दलका केन्द्रिय उपाध्यक्ष उत्तमकुमार चापागाईले ओली सरकारले दुईतिहाइको बहुमतलाई भ्रष्टाचार गर्ने लाइसेन्सको रुपमा प्रयोग गरिरहेको आरोप लगाए ।

‘जनताको आङमा एकसरो लुगा छैन । भत्केको घरमा उनीहरू भोकै बस्न बाध्य छन् । तिनै जनताको अभिमतको दुरुपयोग गर्दै राष्ट्रपतिदेखि मन्त्री र तिनका आसेपासेहरू अर्बौको सुविधाभोग गरिरहेका छन् । भ्रष्टाचारबाटै अकुत सम्पत्ति जोडिरहेका छन्,’ उपाध्यक्ष चापागाईले भने ।
केन्द्रिय महासचिव भुपेन्द्रजंग शाहीले सरकारले आफ्ना नेताको अपमान गर्ने र इतिहास मेटाउने दुष्प्रयास गरेको भन्दै यस्तो कदम बन्द नगरे देशभरका तरुण युवाले सिंहदरबार अगाडि राँको बाल्ने चेतावनी दिए । आफ्ना नेताहरू गिरिजाप्रसाद र शुशील कोइरालाको नाम मेटाउने दुष्साहस गरे प्रधानमन्त्री ओली र प्रचण्डको नामोनिशान मेटाइदिने धम्की दिए । शुक्रवारको सदनमा सरकार र सभामुखले जंगली प्रवृत्ति देखाएको आरोप पनि उनले लगाए ।
कार्यक्रममा तरुणका केन्द्रिय कोषाध्यक्ष विद्वान गुरुङ, तरुण दलका रुपन्देही अध्यक्ष सोम गुरुङ, कपिलवस्तु सभापति सत्यसिंह ठकुरी, गुल्मी सभापति भरत बलामी लगायतले बोल्दै जनतालाई समृद्धिको सपना देखाएको सरकारले विकास, सुशासन र शान्तिसुरक्षा कायम गर्न नसकेको भन्दै वर्तमान सरकारको विकल्प नेपाली जनताले खोजेको बताए ।
कम्युनिस्ट सरकारसँग सदन र सडक दुवै ठाँउबाट लड्न तयारी स्वरुप तरुण युवाले देशव्यापी अभियान लिएर हिँडेको नेताहरूले बताए । तरुण नेताले घरमा आगो लागिरहँदा आफ्नो कोठा बचाउन लाग्ने प्रवृत्तिको अन्य गर्न पार्टीका नेतालाई आग्रह समेत गरे । नेपाली जनताको मौलिक अधिकार कुल्चँदै देशलाई अधिनायकवादतर्फ लैजाने कम्युनिस्ट सरकारविरुद्ध कांग्रेस एक भएर अगाडि बढ्ने उद्घोष तरुण नेताले गरेका थिए ।