लोकान्तर संवाददाताअनुभवी चलचित्र निर्देशक तुलसी घिमिरेको नयाँ चलचित्र 'दर्पण छायाँ २' कमजोर कथानकका कारण पूरै हेर्न मुश्किल हुने चलचित्र बन्न पुगेको छ । एउटा वृत्तचित्रको स्क्रिप्टमा कृत्रिम प्रेमकथा मिसाएर घिमिरेले झर्कोलाग्दो चलचित्र बनाएका छन् ।
फिल्मको कथा तीन प्रमुख पात्र आलाप (पुष्पल खड्का), सरगम (सहारा कार्की) र निशा (श्रद्धा प्रसाईं) को वरिपरि घुम्छ । एउटा कलेजमा पढ्ने यी साथीहरू सांगीतिक चेत भएका युवा हुन् (संगीतका विद्यार्थी हुन् कि होइन भन्ने फिल्ममा कहीँ खुल्दैन) । आलाप स्याक्सोफोन राम्रो बजाउँछ अनि सरगम नाच्न कुशल छिन् । अनि निशाको भूमिका थोरै नकारात्मक छ ।
संगीत संरक्षण गर्ने जिम्मा यी प्रमुख पात्रको अनौपचारिक समूहलाई आइलाग्छ । त्यो पनि एउटा स्याक्सोफोनका लागि । एउटा कम्पनीको अनुबन्धमा उनीहरू लोकबाजा संरक्षण र पुराना श्रष्टाहरूप्रतिको सम्मान कार्यक्रम गर्न खोजिरहेका हुन्छन् । यो सांगीतिक कथानकका अतिरिक्त फिल्ममा त्रिकोणात्मक प्रेमकथा पनि छ । सरगम आलापलाई पोजेजिभनेसको हदसम्म माया गर्छिन् । आलाप पनि उनलाई माया गर्छन् । निशा पनि आलापलाई मन पराउँछिन् । तर निशाको एउटा कालो विगत छ जसले यो प्रेमकथालाई नसोचिएको मोड दिन्छ ।
तुलसी घिमिरेले नेपाली संगीतका पुराना स्रष्टाहरूलाई युवाले बिर्सिंदै गएको र मौलिक बाजा पनि हराउँदै गएको चिन्ता लिएर फिल्म बनाएको हुनुपर्छ । वृत्तचित्रका लागि यो राम्रो स्क्रिप्ट हुन सक्थ्यो । तर कथानक चलचित्रमा यसलाई ढाल्न खोज्दा उनी नराम्रोसँग चुकेका छन् । लोकबाजा संरक्षणको उद्देश्य हो भने पश्चिमी बाजा स्याक्सोफोनलाई किन केन्द्रमा राखियो ? अनि नायकले कहिल्यै कसैैबाट कुनै किसिमको प्रशिक्षण लिएको देखाइएको छैन । चलचित्रको ठूलो मन्त्र हो, शो डन्ट टेल (देखाऊ, नभन) अर्थात् आफूले प्रवाह गर्न खोजेको सन्देश देखाएरै व्यक्त गर, पात्रलाई बोल्न लगाएर होइन । तर यहाँ संगीत सिकेको कुरा आलापले संवादमा व्यक्त गर्छ । अनि उसले कहिल्यै रियाज गरेको पनि देखाइँदैन ।
त्यस्तै संगीत कम्पनीको मालिकले युवाहरूको कुनै परीक्षण नै नगरी त्यत्तिकै पैसा दिएको पनि स्वाभाविक लाग्दैन । लोकबाजा संरक्षण गर्ने काम एक रात गाउँमा बसेको भरमा अनि एउटा गीतमा नाचेको भरमा हुने कुरा पनि अमिल्दो लाग्छ ।
यो चलचित्रको प्रमुख समस्या भनेको अति नै परम्परागत हुनु हो । ललितकलामा लाग्न चाहने छोराछोरीलाई बुवाआमाले रोक्न खोज्नु, दर्जा र हैसियतका कुरा उठाउनु जस्ता कुराहरू असंख्य नेपाली चलचित्रमा देखिएकै हुन् । हुँदा हुँदा हास्यकलाकारको रक्सीको बोतल र पानीको बोतलको जोक पनि धेरै पुरानो भइसकेको हो ।
फिल्ममा संयोग पनि कृत्रिम लाग्छ । निशा संलग्न भएको दुर्घटना यसको उदाहरण हो । अनि आलापले निशासँग सरगमको बुवाले गरेको कुरा सुन्नु पनि त्यस्तै संयोग हो ।
अभिनयमा नवकलाकारबाट धेरै अपेक्षा त गर्न मिल्दैन । पुष्पलको अभिनय ठीकठाक छ तर उनले डाइलग डेलिभरीमा ध्यान दिनुपर्ने देखिन्छ । सहाराको अभिनय अन्य कलाकारको भन्दा राम्रो छ तर जतिखेर पनि आँखीभौं खुम्च्याएर रिसाइरहने चाहिँ वान डाइमेन्सनल लाग्छ । श्रद्धाले भ्याम्पको रोल राम्ररी निर्वाह गर्न सकेकी छैनन् । छोटो लुगा लगाएको भरमा मात्र भ्याम्प देखिन्छ भन्ने सोच नै परम्परागत हो । अनि क्लोज अपमा उनको स्वाभाविक सौन्दर्य पनि ओझेलमा परेको छ ।
फिल्मको छायांकन ठीकै छ । केही दृश्य सुन्दर तरिकाले पनि छायांकन गरिएको छ । तर क्यामेरालाई चलायमान नगरी खिँचिएका धेरै दृश्यले भने दर्शकलाई मोनोटोनस बनाइदिन्छ । पात्रहरूको मुभमेन्टभन्दा पनि टाउको फोकस गरिएको पटक्कै चित्त बुझ्दैन । अनि शटहरू धेरै लामा छन् । धेरैजसो दृश्यहरू छोट्याइन पनि सकिन्थे ।
सहायक कलाकारहरूको काम ठीकठीकै लाग्छ । शेर बहादुर गुरुङले हँसाउने कोशिश त गरेका छन् तर उनलाई राम्रो जोक नै दिइएको छैन । फिल्मका शुरुवाती दृश्यहरूमा उनलाई बढी नै स्थान दिइएकाले उनको नै मुख्य भूमिका हो कि झैं लाग्छ । फिरोज तिमल्सिनाको काम बरू राम्रो लाग्छ । आलाप र सरगमको राम्रो साथी केशरका रूपमा उनले भर्बल तथा ननभर्बल दुवै अभिनय राम्रोसँग गरेका छन् । वरिष्ठ कलाकारहरू बीएस राणा र सरोज खनालको अभिनय त अब्बल हुने नै भयो । आफूले निर्देशन गरेको फिल्ममा आफैं देखिन चाहने तुलसी घिमिरेको मोह भने बुझिनसक्नु छ ।
सांगीतिक चलचित्र भएपनि फिल्मको संगीत स्मरणीय छैन । सबै गीतमा दर्पण र छायाँ भन्ने शब्द पार्नैपर्ने के बाध्यता होला ?
समग्रमा दर्पण छायाँ २ एक औसत फिल्म हो । डेढ दशकअघि आएको दर्पण छायाँले दर्शकलाई भरपूर मनोरञ्जन दिएको थियो र उनीहरूको भावनालाई उद्वेलित बनाउन सफल भएको थियो । तर सिक्वेलले भने निराश बनाउँछ । अत्यन्त कम अपेक्षा लिएर फिल्म हेर्न जानुमा तपाईंको भलो छ ।
स्टार : पाँचमा एकफिल्म : दर्पण छायाँ २निर्देशक : तुलसी घिमिरेकलाकार : पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाईं, फिरोज तिमल्सिना, शेर बहादुर गुरुङ आदि