
सुर्खेत – सुकल्याण पराजुलीको घर पोखरामा हो । उनले दैलेखको डाँडा पराजुलमा रहेको विद्यालयमा डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको ३ वर्ष बितेको छ ।
शुरूमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका पराजुलीले गत वर्ष ४० हजार रुपैयाँ थपेका थिए ।
डुंगेश्वर गाउँपालिका–५ स्थित पिपल चौतार माध्यमिक विद्यालयमा पराजुलीले पुष्प शान्ति गोमादेवी पराजुली छात्रवृत्ति अक्षयकोष स्थापना गरेका थिए । हाल राष्ट्रिय बीमा कम्पनी लिमिटेडका बजार विज्ञसमेत रहेका पराजुलीले विद्यालयमा सर्वोत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई छात्रवृत्ति दिइने गरेको बताए ।
‘मेरो पुर्खा यहीँबाट गएको भन्ने सुनेको थिएँ,’ अक्षयकोष स्थापना गर्नु कारणबारे बताउँदै उनले भने, ‘पुर्खा बसेको स्थानमा रहेका केही विद्यार्थीलाई सहयोग गर्न सकिन्छ कि भन्ने उद्देश्यका साथ बुवाआमाका नाममा डेढ लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरेको हुँ ।’
विद्यालयले एक कार्यक्रमबीच माघ १० गते राष्ट्रिय बीमा कम्पनी सुर्खेत शाखाका प्रमुख नविन कठायतलाई प्रशंसापत्रले सम्मान गरेको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड रामशाह पथ काठमाडौंद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार रुपैयाँ बराबरको न्यानो कपडा विद्यार्थीलाई वितरण गरेको भन्दै सम्मान गरिएको हो ।